तारादेवीको सम्झनामा साँस्कृतिक कार्यक्रम : तीन विशिष्ट व्यक्ति सम्मानित



काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा स्वर किन्नरीको उपाधिले चिनिएकी तारा देवीको १८ औं स्मृति दिवसमा ‘सम्झनामा तारा देवी’ कार्यक्रम गरी मनाइएको छ । कार्यक्रमलाई महानगरपालिकाको सहकार्यमा ‘तारा देवी स्मृति फाउण्डेशन’ले आयोजना गरेको हो । माघ ९ गते (मंगलबार) राष्ट्रिय सभागृहमा कार्यक्रम भव्य रुपमा सम्पन्न कार्यक्रमलाई टोखा नगरपालिका, मुक्तिनाथ बिकास बैंक, महाबिर, म्यूजिक नेपाल र आस्था केला केन्द्रले सहयोग गरेका थिए ।

‘सम्झनामा तारा देवी’ कार्यक्रममा ६ जना वाद्यवादक समूह थियो जसमा लिड गितारमा सुरेश लामा, किबोर्डमा सुरेश भण्डारी, हार्मोनियम, तबला तथा ढोलकमा सुधिर चौधरी, अक्टोप्याडमा रुपेश सिंह, बेस गितारमा श्रीकृष्ण लिम्बु, बाँसुरीमा किरण बराल रहेका थिए । यिनै वाद्यवादकको सहायतामा, दुई दर्जनभन्दा बढी गायकगायिकाले तारादेवीद्वारा स्वरबद्ध गरिएको गीत गाएका थिए । कार्यक्रमा अग्रज गायिका निसा देसार, झूमा निरौला, बबिना भट्टराई, अजर जंगम, जिना रसाइलीदेखि पुजा परियार, अन्जुली हमाल सम्मका कलाकारहरुले सुमधुर गीत पस्केका थिए । कार्यक्रममा रचनाकार किरण खरेल, चादनी शाह, रत्नशम्सेर थापा, धर्मराज थापा लगायत संगीतकार नातिकाजी, गोपाल योञ्जन, शुभबहादुर सुनाम, शिव शंकर मानन्धर दीपक जंगम तथा अम्बर गुरुङका गीतहरु कार्यक्रममा गुन्जिए ।

कार्यक्रममा फाउन्डेशनले तारा देवीका समकालिन ३ विशिष्ट सांगीतिक व्यक्तित्वहरुलाई सम्मान सम्मान अर्पण गरेको थियो । विशिष्ट संगीतकार दीपक जंगम, विशिष्ट गीतकार विश्व बल्लभ र विशिष्ट गायिका तारा थापा सम्मानित भएका थिए ।

तारादेवीले गाएका गीतहरुलाई दुई दर्जन बढी नयाँ–पुराना पुस्ताका गायक गायिकाहरुले पालैपालो गरेर प्रस्तुति दिए । तारा देवीको सम्झना गाइएका, तारा देवीद्वारा स्वरवद्ध ती गीतहरुले कार्यक्रमस्थललाई तारादेवीमय र संगीतमय बनाएको थियो । तारा देवी र प्रेमध्वज प्रधानद्वारा स्वरबद्ध तथा भुपी शेरचनको शब्द, नातिकाजीको संगीत रहेको ‘यो नेपाली शिर उचाली’ बोलको गीतलाई पहिलो प्रस्तुतिको रुपमा राखिएको थियो । यस गीतलाई आस्था कला केन्द्रका कलाकारहरु डेकेन्द्र महवाङ, कल्पाना आलो, देबकी सापकोटा, यादव जीसी, तेज महरा, रबि महत, आयुश खतिवडा, लोकेन्द्र राई, दुर्गा विश्वर्मा, सुश्मा लामिछाने र पबित्र न्यौपानेले गाएका थिए ।

यस्तै रत्न शमशेर थापाको शब्द तथा नातिकाजी र शिव शंकरको संगीत रहेको ‘मुस्कानका लहरहरु’ बोलको गीतमा गीता पाण्डे र सन्जिव आले मगरले युगल स्वर दिए । प्रस्तुतिकै क्रममा गायिका निशा देसारले विश्व बल्लभको शब्द तथा नातिकाजी श्रेष्ठको संगीत रहेको ‘शुभकामना’ बोलको गीत प्रस्तत प्रस्तुत गरेर उपस्थित दर्शक श्रोतालाई मन्त्रमुग्ध बनाइन् । ‘उनले अंगालो हालेर’ दिपक जंगम र तारा देवीको स्वर रहेको, किरण खरेलको शब्द र दिपक जंगमको संगीत रहेको गीतलाई अजर जंगम र जीना रसाइलीले गाउँदा दर्शक उनिहरु तिरै एकोहोरिए ।

स्वर किन्नरी तारा देवी र दिपक जंगम स्वर, किरण खरेलको शब्द तथा दिपक जंगमको संगीत रहेको ‘उनले अंगालो हालेर’ बोलको युगल गीतमा अजर जंगम र जिना रसाइलीले गीत गाउँदा दर्शक झनै रमाएका थिए । राष्ट्रकबि माधव घिमिरेको शब्द तथा नातिकाजीको संगीत तथा शुभ बहादुर सुनामको संगीत संयोजक रहेको कालजयी गीत ‘फूलको थुँगा’ मा स्वर किन्नरी तारादेवीको बायोपिक देखाइएका थियो । अशान्त शर्माले कोरियोग्राफी गरेको अनुजा अधिकारी, अस्मिता ढकाल र सलिना मिश्रले उक्त बायोपिक प्रस्तुत गरिरहँदा माहोल निकै भाबुक भएको थियो।

फाउन्डेशनले विशिष्ट संगीतकार दीपक जंगम, विशिष्ट गीतकार विश्व बल्लभ र विशिष्ट गायिका तारा थापालाई संगीत क्षेत्रमा उनीहरूले र्पुयाएको योगदान स्मरण गर्दै सम्मान अर्पण पनि गरिएको थियो ।

कार्यक्रमको लगभग मध्यान्तरमा सांगीतिक प्रस्तुतिहरुपछि सम्मान अर्पण गरिएको थियो । किरण खरेलको शब्द, शिव शंकर मानन्धरको संगीत रहेको ‘आँखाहरुले रुन नखोजे’ गीतबाट पुनः सांगीतिक कार्यक्रमलाई जोडिएको थियो । ‘आँखाहरुले रुन नखोजे’ गीतमा बबिना भट्टराईको प्रस्तुतिमा माहोल निकै जमेको थियो ।

त्यस्तै अन्जुली हमालले चाँदनी शाहको शब्द, नातीकाजीको संगीत रहेको गीत ‘किन हो यति भरोसा’ मा प्रस्तुति दिएकी थिइन् । धर्मराज थापाको शब्द तथा संगीत रहेको ‘काली पारी दाई कति राम्रो’ गीतमा शर्मीला लामा गुञ्जिइन् । चाँदनी शाहको शब्द नातिकाजीको संगीत रहेको ‘तिम्रा पाउहरुमा’ अग्रीमा रिजालको प्रस्तुति पनि कर्णप्रिपय थियो । कुमार बस्नेतको संगीत र शब्द संकलन रहेको ‘र्ककलो गाभा’ लाई गीता पाण्डेले गाउँदा दर्शक रमाइलो मानेका थिए । यस्तै रत्न शमशेरको शब्द, शुभ बहादुर सुनामको संगीत रहेको गीत ‘फूलै फूलको मौसम तिमीलाई’ मा जीना रसाइलीको प्रस्तुतिमा पनि दर्शक श्रोताले भरपुर आनन्द लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्