संगठक र समन्वयकर्ता युवानेता मुरारी भण्डारीको जीवनी



काठमाडौं । बाल्यकालदेखि कम्युनिष्ट वातावरणमा हुर्किएका मृदुभाषी मुरारीप्रसाद भण्डारी शहिद ऋषिराज देवकोटाको आदर्शलाई आत्मसात गर्दै कलिलै उमेरदेखि पार्टी निर्माण र विस्तारमा समाहित भए ।

बूढानीलकण्ठ क्षेत्रको प्रतिनिधित्व गर्दै नेकपा एमालेको प्रथम बागमती प्रदेश अधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि छानिएका भण्डारी पार्टीभित्र चुनाव हुने अवस्था भएमा प्रदेश पदाधिकारीमा उम्मेद्वारी दिने तयारीमा छन्।

समन्वय र सहकार्यमा विश्वास गर्ने भण्डारीले बाँकी जीवन कम्युनिष्ट आन्दोलनको मूलप्रवाह नेकपा एमालेमा रहेर पार्टी निर्माणमा योगदान पुर्‍याउने योजनासहित काठमाण्डौ-४ लाई केन्द्रमा राखेर अगाडि बढिरहेका छन्।

राजनीतिक सम्भावनाको क्षितिजमा उदाउँदै गरेका युवानेता भण्डारीको जीवनका विभिन्न पाटाहरु समेटेर तयार पारिएको जीवनी:

बुबा खेमराज भण्डारी र आमा नैनकुमारी भण्डारी जेठा छोरा मुरारी प्रसाद भण्डारी बाल्यकालदेखि नै कम्युनिष्ट वातावरणमा हुर्किए। २०४६ सालमा प्रजातन्त्रको पुन:स्थापनापछि भएको पहिलो स्थानीय तहको निर्वाचनमा बुबा खेमराज भण्डारी नेकपा एमालेबाट रत्नावती गाविस वडा नम्बर ७ को वडाध्यक्षमा निर्वाचित भएपछि विद्यालय तह पार नगर्दै मुरारी एमालेको कार्यकर्ता बन्न पुगे।

गाउँकै श्री प्राबी सालुकेबाट कक्षा ५ सम्मको अध्ययन पुरा गरेका भण्डारीले कक्षा ६ र ७ दुधौली नगरपालिका वडा नम्बर ६ स्थित श्री मा.वि. लदाभिरबाट पारगरी कक्षा ८,९ र १० सम्मको अध्ययन दुधौली-२ स्थित कमला मा.वि. भलुवाईबाट पुरा गरे।

कक्षा ६ मै अध्ययन गर्दा लोकप्रिय विद्यार्थी संगठन अनेरास्ववियुमा आवद्ध भएका भण्डारीले उच्च शिक्षाको लागि काठमाडौं स्थित बानेश्वर बहुमुखी क्याम्पसलाई रोजे। बानेश्वर क्याम्पसमा अध्ययन गर्दै अनेरास्ववियु क्याम्पस कमिटी सदस्य, सचिव हुँदै अनेरास्ववियुकै काठमाडौं जिल्ला कमिटीको विभिन्न जिम्मेवारीमा रहेर अनेरास्ववियुको केन्द्रिय कमिटी सदस्य समेत बने।

विद्यार्थी राजनीतिमा सक्रिय रहेको अवस्थामै भण्डारीले नेकपा एमाले सिन्धुली काठमाण्डौ सम्पर्क मञ्चको विभिन्न जिम्मेवारी निर्वाह गर्दै उपाध्यक्ष समेत बनेर सिन्धुली जिल्लाको पार्टी कामलाई काठमाडौंमा बसोबास गर्नेहरुको बीचमा सेतुको काम गरे।

२०५४ सालमा नेकपा एमाले विभाजित बनेर नेकपा मा.ले. बनेपछि मालेको राजनीतिमा क्रियाशील भण्डारीले सिन्धुली फर्किएर नेकपा मालेको ईलाका कमिटी सचिव, क्षेत्रीय सदस्य हुँदै पार्टी जिल्ला कमिटी सदस्य र नेकपा मालेको केन्द्रिय अतिरिक्त क्रियाकलाप विभागको सदस्य समेत भएर पार्टी जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरे।

२०६६ सालबाट नेकपा माओवादी प्रवेश गरेका भण्डारीले स्थानीय तहको निर्वाचन नभएको समयमा तत्कालीन कपन गाउँ विकास समितिको सर्वदलीय संयन्त्रको सदस्य हुँदै नेकपा माओवादी काठमाण्डौ जिल्ला कमिटी सदस्यको रुपमा समेत जिम्मेवारी निर्वाह गरे।

२०७३ सालमा नेकपा माओवादी सिन्धुली जिल्ला कमिटीमा सरुवा भई फिक्कल गाउँ पालिकाको ईञ्चार्जको जिम्मेवारी बहन गरेका भण्डारी माओवादीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि समेत बन्न सफल भए। नेकपा एमाले र नेकपा माओवादी पार्टी एकीकरण भई नेकपा बन्दा फिक्कल गाउँपालिका सिन्धुलीको सचिव भएर जिम्मेवारी निर्वाह गरेका भण्डारीले माओवादीमै रहँदा बागमती प्रदेश गरिबी तथा सहकारी विभागको सचिव भएर योगदान पुर्‍याए।

नेकपा माओवादीमा हुँदा निवर्तमान उपराष्ट्रपति नन्द किशोर पुन “पासाङ” को चुनावी कमाण्डर भएका भण्डारी २०७९ सालमा नेकपा एमालेमा पुन: जोडिएर संघीय निर्वाचनमा काठमाडौं-४ को नेकपा एमालेको निर्वाचन परिचालन कमिटीमा बसेर योगदान पुर्‍याएका छन्।

भण्डारीको सामाजिक जीवन
सिन्धुलीमा हुँदा तत्कालिन श्री प्रा.वि. पिपल भञ्ज्याङ् (हाल प्रस्तावित मा.वि. सालुके) मा २ वर्ष शिक्षण पेशामा संलग्न भण्डारी पार्टी कामको अतिरिक्त विभिन्न सामुदायिक र सामाजिक संघसंस्थामा आवद्ध भएर सामाजिक अभियानमा जोडिएका छन्।

सिन्धुलीको फिक्कल स्थित मा.वि. ढोडेनीमा अक्षयकोष स्थापना गरेका भण्डारीले सिन्धुलीकै सालघारी मा.वि., मा.वि. सोल्पा, पानी ट्यांकी मा.वि.मा पुस्तकालय निर्माण अभियान संचालन गरेका भण्डारीले वार्षिक रुपमा विभिन्न सामुदायिक विद्यालयहरुमा शैक्षिक सामग्रीहरु समेत वितरण गर्दै आएका छन्।

कपन क्षेत्रको जोरधारा खानेपानी खानेपानीको ट्यांकी बनाउन सप्ताह लगाएर आर्थिक संकलन गरेका भण्डारीले बालकुमारी आधारभूत विद्यालयको व्यवस्थापन समिति समितिमा बसेर विद्यालयको विकासमा समेत योगदान पुर्‍याएका उनी राष्ट्रिय अभिभावक महासंघको केन्द्रिय सदस्य समेत हुन्।

कपन बहुमुखी क्याम्पसको व्यवस्थापन समितिमा बसेर काम गरेका भण्डारी नेपाल कम्युनिष्ट पार्टीको संस्थापक महासचिव पुष्पलालको स्मृतिमा स्थापित पुष्पलाल मेमोरियल कलेजका संस्थापक हुन् भने तत्कालिन माउन्ट कैलाश स्कूलको संस्थापक र हाल प्रशान्ति एकेडेमीको संस्थापक समेत रहेका छन्।

नेपाल रेडक्रस सोसाईटीको आजीवन सदस्य रहेका भण्डारी बूढानीलकण्ठ-१२ स्थित टेक्सास बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक समेत हुन्।

राजनीतिक र व्यवसायिक कामले नेपालका अधिकांश जिल्लाको भ्रमण गरेका भण्डारीले चीन, सिंगापुर, थाईलैण्ड, बंगालादेश लगायतका मुलुकहरुको भ्रमण समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्