काठमाडौं क्षेत्र नं. ४ मा आक्रामक बन्दै एमाले, रक्षात्मक बन्दै गठबन्धन



काठमाडौं । काठमाडौं क्षेत्र नंं ४ मा विकासवादी छवि बनाएका नेकपा एमाले स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराई र प्रदेश ४(१) का उम्मेदवार जिल्ला कमिटीका उपसचिव तेज ढकाल र ४(२) का उम्मेदवार जिल्ला कमिटी सदस्य जयराम थापाको पछिल्लो माहोलले एक्लै भिडिरहेको नेकपा एमाले गठबन्धनलाई भारी पर्ने देखिन थालेको छ ।

एमसीसी प्रकरणबाट विवादित बनेका नेपाली कांग्रेसका महामन्त्री गगन थापा १५ वर्ष काठमाडौं क्षेत्र नं. ४ को प्रतिनिधित्व गर्दै संसदमा पुगेपछि आफ्नो क्षेत्र, पार्टी कार्यकर्ता र मतदाताहरुलाई बेवास्ता गरेका थिए । त्यतिमात्र होईन  ४(१) बाट काँग्रेसले उठाएको उम्मेद्वार स्थानीय क्षेत्रमा परिचित नभएको र नेवारी समुदायको बाक्लो क्षेत्र रहेको स्थानमा पार्टी स्वार्थको लागि नेवारी समुदायलाई पन्छाउने गगन प्रयास आफैंमा गलपासो पर्दै गएको छ । ४(२) बाट गठबन्धनको साझा उम्मेद्वार बनेका कुसुम कार्की पूर्व एमाले र माओवादी केन्द्रका विश्वासपात्र होईनन् भने स्थानीय काँग्रेस समर्थकले उनलाई भोट दिने आधार नदेखिएको स्थानीय नेताले दावी गरेका छन् । 

निर्वाचनमा पराजय भोग्दा पनि कपन डुबान समस्या समाधानको प्रयास गरेका डा. राजन मेलम्ची खानेपानीलाई रिङ्ग रोड बाहिर ल्याउन सफल भएकोमा उनीप्रति सबैजसो मतदाताको सहानुभूति देखिन्छ । राज्यका माथिल्लो निकायको जिम्मेवारी बहन गर्दा कुनै विवादमा नतानिएका डा. राजन भट्टराईको छवि र जनताप्रति उनले गरेको प्रतिवद्धता पुरा गर्न गरेको अधिकतम प्रयासले समेत नेकपा एमालेप्रति स्थानीय माहोल आक्रामक बन्दै गएको छ ।

एमसीसीपछि भावी प्रधानमन्त्रीको आफूलाई घोषित गरेका गगन थापाको फण्डा उनकै लागि घातक बन्ने देखिन्छ । किनभने पार्टीबाट कुनैपनि व्यक्ति प्रधानमन्त्री बन्नको लागि संसदीय दलको नेता बन्नुपर्छ । डा. शेखर कोईरालाको नेतृत्व स्वीकार गरी काँग्रेस महाधिवेशनमा महामन्त्री जितेका थापाको दाबी काट्दै उनै कोईरालाले आफू प्रधानमन्त्रीको दावेदारी गरेपछि गगन फण्डा उनकै लागि प्रतित्युत्पादक बनेको छ ।

काँग्रेसको बलियो क्षेत्र भनेर दाबी गरिएको महानगरपालिकाको वडा नम्बर ७ मा डा. राजन भट्टराईले ५०० मतले लिड गर्ने वातावरण बन्दै गएको एमालेको दाबी छ भने गगन गढ भनेर चिनिएको वडा नम्बर ३० मा समेत स्थानीय नेता तेज ढकालको सादगी र सरल जीवनशैलीले उछिन्ने देखिन्छ ।

अघिल्लो निर्वाचनमा जस्तो बूढानीलकण्ठ नगर क्षेत्रका ८ वटै वडामा एमालेका संघीय उम्मेद्वार डा. राजन भट्टराई र प्रदेश सभाका उम्मेद्वार जयराम थापाबीचमा मतान्तर हुने सम्भावना नै छैन् । अर्काेतर्फ प्रदेशमा जितेका प्रदेश सांसद कुसुम कार्कीले स्थानीय जनप्रतिनिधि र पार्टीका कार्यकर्ताबीचमा दुरी बढाएको कारण दुवै प्रदेश र संघमा नेकपा एमाले निकै शसक्त बन्दै गएको देखिन्छ ।

अर्काेतिर माओवादी केन्द्रका प्रभावशाली नेता धर्मदत्त देवकोटा सहित काठमाडौं क्षेत्र नंं ४ मा निकै राम्रो प्रभाव जमाउने नेतृ सिता पौडेल, मुरारी भण्डारी, राजु हमाल, लिला दियाली, विक्रम अधिकारी, हरिभक्त गिरी, फडिन्द्र सैजुं, राम कुमार श्रेष्ठ, सागर ढकाल लगायत विप्लब माओवादीबाट सिला लामा जस्ता निकै प्रभावशाली नेताहरु नेकपा एमालेमा प्रवेश गर्नुले एमालेको जनमतलाई हजारौंमा प्रभावित गरेको देखिन्छ ।

लगातार १५ वर्ष पराजय भोगेको नेकपा एमालेले मङ्िसर ४ लाई आफ्नो अस्तित्वसँग जोडेको छ भने पटक–पटक निर्वाचित भएकाहरुप्रति जनताको आशा र भरोसा घटेको देखिन्छ । अघिल्लो निर्वाचनदेखि अहिलेसम्म पार्टी प्रवेशको आँकडा हेर्ने हो भने करिब २००० व्यक्तिहरु यहि क्षेत्रबाट एमाले प्रवेश गरेका छन् भने स्थानीय जनप्रतिनिधिहरुले आफ्नो काममा सहयोग पुर्याउने नेतालाई जिताएर रुपान्तरणकारी विकास गर्नुपर्ने अहम दायित्व छ ।

प्रतिक्रिया दिनुहोस्