आपराधिक घटना नियन्त्रण गर्न भोजपुरमा विशेष सुरक्षा



काठमाडौं । बेलामा हुनसक्ने आपराधिक घटना न्यूनीकरणका लागि भोजपुरमा सुरक्षा निकायबाट विशेष योजना बनाइएको छ । जिल्लामा चाडपर्वको समयमा कुनै पनि घटना हुन नदिन जिल्ला तहका सबै सुरक्षा निकायसँग समन्वय गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए । उनले भने, “निर्वाचनसमेत नजिकिँदै गएको साथै दसैँ–तिहारलगायतका चाडपर्वलाई ध्यानमा राखेर सुरक्षा सतर्कता अपनाएका छौँ ।”

चाडपर्वका बेलामा कुनै पनि घटना जिल्लाभित्र हुन नदिन विशेष सुरक्षा योजना अपनाइने जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक शरतकुमार थापा क्षेत्रीले बताए । उनले भने, “चाडपर्वका समयमा आपराधिक घटना हुनसक्ने भएकाले त्यसलाई निरुत्साहित गर्न जिल्ला प्रहरी कार्यालयले मातहतका सबै प्रहरी युनिटलाई परिचालन गरेको छ ।” नागरिक सुरक्षा प्रहरीको पहिलो कर्तव्य भएकाले प्रहरीले आफ्नो युनिटलाई सोहीअनुसार परिचालन गर्ने प्रहरी प्रमुख क्षेत्रीको भनाइ छ ।

जिल्लामा जिल्ला प्रहरी कार्यालयसहित ३७ प्रहरी युनिट छन् । यसमा सात इलाका प्रहरी कार्यालय, १८ प्रहरी चौकी, तीन अस्थायी प्रहरी चौकी, तीन अस्थायी प्रहरी चौकी छन् । चाडपर्वका बेलामा बढी घटना घट्ने भएकाले प्रहरीलाई पनि सजग गराइएको छ । प्रहरीले जिल्लाको शान्ति सुरक्षा मजबुत बनाउन सबै सरकोरवाला निकायसँग छलफलसमेत गरिएको जनाएको छ । चाडपर्वका समयमा केही समस्या परेमा जिल्ला प प्रहरीसँग समन्वय गर्न पनि आग्रह गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्