तराईका जिल्लामा जितिया पर्वको तयारी



काठमाडौं । मध्यपूर्वी तराईका जिल्लामा पितृपक्ष (सोह्रश्राद्ध) सुरु भएसँगै महिलाहरू जितिया पर्वको तयारीमा लागेका छन् । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा पितृपक्ष सुरु हुनासाथै उनीहरुले जितियाको चर्चा र तयारी थालेका हुन् । यो पर्व मिथिलामा पौराणिक र पारम्परिक महत्वको मानिन्छ । यसपालिको पितृपक्ष सोमबार नै प्रारम्भ भइसकेको छ ।

महिलाले असोज कृष्ण अष्टमीका दिन जितिया पर्वको कठोर उपवास बस्ने हिन्दू मैथिल परम्परा छ । पितृपक्ष सुरु हुनासाथै बर्तालु महिला आत्मिक, दैहिक, भावनात्मक र भौतिक तयारीमा जुट्ने पुरानो मैथिल परम्परा हो ।

अष्टमी सुरु हुनु एकघडी (करिब साढे दुई घण्टा) पूर्व सुरु हुने उपवास एक अहोरात्रपछि नवमी तिथि एकघडी कटाएर समापन गरिने मैथिल परम्परा छ । सन्तानको सौर्यवृृद्धि र कल्याणको कामनाका लागि गरिने यो व्रत विधि कठिन भएकाले यसको चर्चा र तयारी केही दिन पहिले नै सुरु हुने गरेको हो ।

यस पर्वमा निराहार व्रत सुरु गरिएपछि समापन नगरिउञ्जेल थुक निल्नु, अञ्जानमै पनि किरा, फट्याङ्ग्रा र झारपात मारिनु, चुडिनु नहुने धार्मिक मान्यताले गर्दा यो पर्व निकै कठिन विधिको मानिन्छ । पहिले सन्तान (छोरा–छोरी)को कल्याण कामनार्थ गरिँदै आइएको यो व्रत पछिपछि पुत्रका नाममा हुन थालेको सामाजिक क्षेत्रमा क्रियाशील रहँदै आएकी जलेश्वर–२ का साधना बर्मा बताउँछन् ।

यसपालि यो व्रत तिथिको भोग घटबढले आउने आगामी असोज १ गते परेको छ । आगामी शनिबार मध्याह्नलगत्तै अष्टमी तिथि लाग्ने हुँदा शुक्रबार मध्यरातपछि शनिबार बिहानै दही, चिउरा ‘ओगटन’ (दर) खाएर बर्तालुले निराहार व्रत सुरु गर्नेछन् । निराहार व्रत बस्ने महिलाले एक अहोरात्र कटाएर नवमी तिथि एक घडी कटाएपछि व्रत समापन गर्नेछन् । यसपालि आइतबार मध्याह्नपछि नवमी तिथि प्रारम्भ हुने हुँदा सो दिन सूर्यास्तपछि व्रत समापन गर्न सकिने जनाइएको छ ।

सामान्यतया उदाउँदो सूर्यका बेला समापन गरिने यो पर्व यसपालि भने सूर्यास्तपछि हुने भएको छ । व्रतमा एक अहोरात्र कटाउन पर्ने विधानले यसपालि जितिया व्रत ३६–३७ घण्टाको हुने ब्राह्मण बताउँछन् । रासस

प्रतिक्रिया दिनुहोस्