नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकमा पहिरो : जननिर्वाचित सहित क्रियाशील सदस्यद्वारा सामुहिक राजीनामा



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिन्धुपाल्चोकमा नेकपा माओवादीबाट २०७४ सालमा निर्वाचित भएका जनप्रतिनिधि लगायत पार्टीका क्रियाशील सदस्यहरुले सामूहिक राजनीनामा दिएका छन् ।

पार्टी अध्यक्षलाई सम्बोधन गर्दै गाउँपालिका कमिटी कार्यालय भोटेकोशीले सामूहिक राजीनामा घोषणा गरेको हो । राजीनामा दिनेमा भोटेकोशी गाउँपालिका पार्टी इन्चार्ज आङछिरी शेर्पा सहित निर्वाचित उपाध्यक्ष दावुटी शेर्पा लामा, भोटेकोशी गाउँपालिका अध्यक्ष लाक्पा शेर्पा, उपाध्यक्ष फुर्पा शेर्पा (फुनु) वडा नं. २ का वडा अध्यक्ष दिपेन्द्र कुमार श्रेष्ठ लगायत सिङ्गो भोटेकोशी गाउँपालिका कमिटी नै रहेको छ ।

आर्थिक दलालीकरण र भ्रष्टिकरणको नाँगो रुप दिईएको राजीनामा पत्रमा, ‘विगत लामो समयदेखि हामी मार्क्सवाद, लेनिनवाद, माओवाद सैद्धान्तिक विचारधारको आलोकमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा आवद्ध रहँदै आयौं । जुन पार्टीले १० वर्षे सशस्त्र जनयुद्ध गरेर ठूलो स्वामित्व लियो । संघीय लोकतान्त्रिक गण प्राप्तिको संघर्ष र आन्दोलनमा हाम्रो सहभागिता रहेकोले यो उपलब्धीपैति हामी गौरवान्वित छौं । यत्रो ठूलो संघर्षको इतिहास बोकेको पार्टी खास गरेर भोटेकोशी गाउँपालिकाको सवालमा व्यक्तिवाद, स्वार्थ, आर्थिक दलालीकरणमा फसेर विधि, पद्धती, प्रणाली र नैतिकरुपमा गिर्दै गयो । हाम्रो पार्टीको यो दुखान्त स्थितिले नैतिक रुपमा सांगठनिक जिम्मेवारीमा बस्न उचित लागेन । स्थानीय तहको चुनाव नजिक आइसकेको छ । पार्टी कमिटीले सर्वसम्मत सिफारिस गरेको उम्मेदवारलाई लात हानेर शक्ति र स्वार्थको आधारमा व्यापक आर्थिक चलखेल गरि पार्टी केन्द्रको नीति विपरित उम्मेदवारमा धाँधली गर्ने पार्टी नेतृत्वको हामी सामुहिक रुपमा घोर निन्दा र भ्रत्सना गर्दछौं । पार्टीको आठौं राष्ट्रिय महाधिवेशनद्वारा पारित आजको वैज्ञानिक समाजवाद नीतिको खिलाफमा भोटेकोशी पार्टीलाई व्यक्तिवादी स्वार्थको पञ्जाले हिर्काएको छ । समाजवादउन्मुख आर्थिक, राजनीतिक र सामाजिक उपरिसंरचना निर्माणमा सिन्को नभाँच्ने पुरानो जनप्रतिनिधिलाई पुनः नेतृत्व स्विकार्नु भनेको आर्थिक दलालिकरण र राजनीतिक भ्रष्टिकरणको एउटा नाँगो रुप हो । त्यसैले यस्ता पार्टी हितविपरीतको गतिविधि सच्याउनु हामी तपशील बमोजिमका पदाधिकारी जोडदार माग गर्दछौं । साथै, आजको मितिबाट पार्टीको सम्पूर्ण कमिटीबाट सामूहिक राजीनामाको घोषणा गर्दछौं ।

अष्ट्रेलियाका लागि नेपाली नेपाली राजदूत लक्की शेर्पाले सामाजिक संजालमा, ‘माओवादीमा राजीनामाको लहर नै चलिरहेको छ । सिन्धुपाल्चोकका साथीहरुलाई अग्रिम बधाई’ भनी स्टाट्स शेयर गरेका छन् ।

केही दिन अघि मात्रै पूर्वराजदूत लक्की शेर्पा सहित माओवादी केन्द्रका केन्द्रीय सदस्य लगायतकाे जम्बो टोली नेकपा एमाले प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्