शेष घलेको भाई भन्दै ठगी गर्ने गमबहादुर लामिछाने पक्राउ



केहीसमय अघिदेखि आफूलाई खर्बपति व्यापारी तथा गैरआवासीय नेपालीहरुको संगठन (एनआरएन) का पूर्वअध्यक्ष शेष घलेको नक्कली भाईको भेषमा आम नागरिकलाई ठग्दै हिँडेका गमबहादुर लामिछाने पक्राउ परेका छन् ।

स्कुटी चढेर नयाँ मुर्गाको हण्टिङमा निस्केको बेला लाजिम्पाट र लैनचौरको दोसाँधमा रहेको होटल एम्बेसडरको सातौं तलाबाट लामिछाने समातिएका हुन् ।

पौने पाँच करोडभन्दा बढी रुपैयाँ ठगी गरेको अर्थात् चेक बाउन्सको उजुर उनीबिरुद्ध दायर भएपछि लामिछानेलाई काठमाडौं प्रहरीको विशेष टोलीले आज पक्रेको हो ।

लामिछानेले विदेशीले नेपालमा सोझै लगानी गर्न,कम्पनी खोल्न र श्री सम्पत्ति किन्न नसक्ने भन्दै चिनियाँले छ करोड असी लाखमा किनेको घर आफ्नो नाममा दर्ता कायम गरेका थिए । चीनसँग व्यापार गर्न दर्ता गरिएको टियानयु इन्टरनेशनल कम्पनीलाई अघि सार्दै उनले एक साताभित्र चिनियाँको नाममा घर नामसारी गरिदिने कागज गरेपनि वर्षौंसम्म त्यसो नगरेको अभियोग पनि उनीमााथि लाग्दै आएको छ ।

गौंडागौंडामा श्रीमती र लालाबाला भएका लामिछानेको अनौपचारिक श्रीमती धेरैवटी कान्छी रहेको रहस्यसमेत यसबीच खुलेको छ ।

पटक पटक पक्राउ पर्दा राजनीतिक शक्तिको आडमा छुट्दै आएका लामिछानेले यसपटक नेपाल प्रहरीलाई राजनीतिक प्रभावमा पार्छन् कि पार्दैनन् त्यो भने हेर्न बाँकी छ । मुलुकमा वैदेशिक लगानी गरेर उद्योग व्यवसाय सञ्चालन गर्ने तथा रोजगारी सिर्जना गर्ने विदेशीहरूलाई दुःख दिएका उनको आजको पक्राउले वैदेशिक लगानीमा संलग्न विदेशीलाई सबैभन्दा ठूलो राहत मिलेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्