शेष घलेको भाइ भन्दै चिनियाँ दम्पत्तिको करोडौँ ठगी गर्ने लमजुङका गम बहादुरको कर्तुत



गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष तथा खर्बपति नेपाली व्यवसायी शेष घलेको भाइ भन्दै लमजुङ, घनपोखराका गमबहादुर लामिछानेले काठमाडौंमा न्यायाधीश पत्नी, चिनियाँ व्यवसायी दम्पत्तिदेखि बैंक र सहकारीसम्मलाई ठगी गरेको रहस्य बाहिरिएको छ ।

वर्षौंदेखि विभिन्न बैंक तथा वित्तीय संस्थाको खातामा एक रुपैंयाँ नभएपनि थोरै पैसा लिएर ठूलो रकमको चेक भिडाउँदै हिँड्ने गरेको धेरैवटा प्रमाण सार्वजनिक भएको छ । करोडौंको कुरो गर्ने, त्यहिबमोजिम चेक काटेर अरुलाई दिने तर, बासचाहिँ सामान्य डेरामा बस्ने गरेका लामिछाने आफूलाई पूर्व राजपरिवार निकट व्यक्ति र विभिन्न राजनीतिक दलका नेता निकट भन्दै सयौंलाई ठग्न सफल भएका छन् ।

ठग्ने क्रममा पछिल्लो पटक चिनियाँ व्यवसायी दम्पत्ति लामिछानेको जालमा परेका छन् । नेपालमा लगानी गरेर ठूलो व्यवसाय गर्ने योजना बनाएका चिनियाँ दम्पतिलाई लामिछानेले शेष घलेको भाइ भएकाले वैदेशिक लगानीसम्बन्धी सबै ज्ञान भएको बताएका थिए । ‘विदेशीले नेपालमा सोझै लगानी गर्न पाउँदैन, अचल सम्पत्ति खरिद गर्न त झनै पाउँदैन’ भनेर उनीहरुकै पैसामा सामाखुशी चोकबाट ग्राण्डी हस्पिटल जाने टोखा रोडमा ६ करोड ५० लाख रुपैयाँ तिराएर एउटा घर किनाए । घर किनाए बापत एक करोड १० लाख कमिशन खाएर उक्त घर आफ्नै नाममा पास गर्न समेत सफल भए । आफ्नो नाममा पास गरेको घर एक हप्ताभित्र चिनियाँ दम्पत्तिलाई फिर्ता गर्ने कागज गरेका लामिछानेले दुई वर्ष वित्न लाग्दा पनि आफ्नो वाचा पुरा गरेनन् । 

चिनियाँ दम्पत्तिलाई घर फिर्ता गर्नु त कता हो, त्यही घर धितो राखेर सेन्ट्रल फाइनान्स, कुपण्डोलबाट २ करोड चानचुन ऋण निकालेर अपचलन गरेका छन् ।

सहकारीबाट लाखौंको ऋण झिकेर नयाँ गाडी चढ्ने, ऋण झिकिएको पैसाले मोजमस्ती गर्ने लामिछानेले चिनियाँ व्यवसायीद्वारा संचालित चितवनको घाँस फ्याक्ट्री समेत आफ्नै हो भनी अरुलाई ठगी गर्दै आईरहेका छन् । गत हप्ता मात्रै २ करोड रुपैयाँ सभिल बैंकबाट झिकेर उनले सेन्ट्रल फाइनान्सलाई तिरेपछि बैंकबाट थप ४ करोड निकाल्ने प्रयास गर्दा शंकास्पद देखिएपछि अहिले काठमाण्डौ जिल्ला अदालतले कारोबारमा रोक लगाएको बुझिएको छ ।

२०४९ सालमा लमजुङ्ग जिल्ला प्रशासन कार्यालयबाट निकालिएको नागरिकताको आधारमा २०६७ सालसम्म तेस्रो प्रतिलिपि बनाएका थिए । उनले हरेक प्रतिलिपिबाट नयाँ ठाउँ, नयाँ प्रयोजन र नयाँ कारोबार गर्ने गरेको पुष्टि भएको छ ।

कारोबारलाई हेर्दा उनी कर्जा सूचना केन्द्रको कालोसूची नम्बर १०७३०,१०७०८,१०६८४ र ३९१९ मा यसअघि नै परिसकेका व्यक्ति हुन् । उक्त नम्बरको आधारमा उनी २०६८ भदौ १६ गतेदेखि २०७६ साउन मसान्तसम्म कालो सूचीमा कायम रहेको देखिन्छ । तर, त्यसबीच बैंकिङ्ग कारोबार कसरी गरे  त्यो पाटो झन् रहस्यमय बनेको छ ।

पछिल्लो पटक काटेको सिद्धार्थ बैंकको तीनवटा चेकमध्ये दुईवटा आगामी चैत २८ गतेको र एउटा गत पुस २८ गतेको छ । ती चेकमा क्रमशः ९५ लाख, १ करोड ९४ लाख र २ करोड रुपैयाँ लेखिएको छ । तर खातामा रकम शुन्य छ ।

शैलुुङेश्वर प्रगतिशील बचत तथा ऋण सहकारी, क्षेत्रपाटीलाई आफूले चढ्ने गरेको जीपमा लाखौं फसाइदिएका छन् । हालसम्म किस्ता भुक्तानी नगरेकोमा चुक्ता गर्न आउन उक्त सहकारीले दिएको ७ दिने म्यादको सूचनाबाट पनि सहकारी फसेको प्रमाणित हुन्छ ।

गत वर्षमात्रै ठगी मुद्दामा जेल चलान भएर कैदसमेत भुक्तान गरेको लामिछानेले शेष घलेको नाम बेच्दै धेरै जनालाई ठगेको प्रहरी स्रोतले बताएको छ । छुुटेपछि उनले फेरि त्यहि धन्दा दोहोर्याएका छन् ।

एक रुपैंयाँ बचत नभएको खाताबाट करौडौंको चेक भुक्तानी
कम्पनी मार्फत आफैंलाई काटिएको चेक

यहि समाचारलाई अंग्रेजीमा पढ्न :

Gam Bahadur of Lamjung identifying him as Shesh Ghale’s brother cheated crore on Chinese Spouse

प्रतिक्रिया दिनुहोस्