कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ



१२ साउन २०७७, काठमाडौं

दश वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी कैलाली धनगढी उपमहानगरपालिका–१ बस्ने ४० वर्षीय सुर्वण श्रेष्ठलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

४१ वर्षीय सुरेन्द्र बहादुर सिंहलाई २०६८ मंसिर १८ सोही उपमहानगरपालिका–८ धनगढीस्थित दुर्गा मन्दिरमा लागेको मेला हेर्न गएको समयमा सुर्वण समेतका २ जनाले कुटपिट गरी घाइते बनाएका थिए । उपचारको क्रममा उनको मृत्यु भएको थियो ।

घटना पश्चात दुवै जना फरार रहेकोमा अर्का प्रतिवादीलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा सम्पुर्ण अनुसन्धान कार्य पुरा गरी कैलाली अदालतबाट जन्म कैद २० वर्ष फैसला भएको र सुवर्ण हालसम्म फरार रहेकाले खोजी गर्ने क्रममा धनगढी उपमहानगरपालिका–९ मा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो ।

उनलाई आवश्यक कारवाहीका लागि कैलाली जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्