प्रहरी उपरीक्षक कोइरालाको सक्रियतामा ९ करोड २० लाख राजस्व संकलन



०७ साउन २०७७, काठमाडौं

झापा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले आर्थिक वर्ष २०७६-२०७७ मा ९ करोड २० लाख ७९ हजार ६ सय रुयैयाँ राजस्व संकलन गरेका छन् । आर्थिक वर्ष २०७६-२०७७ मा झापा प्रहरीले ५ करोड १५ लाख २५ हजार १ सय रुपैयाँ राजस्व संकलन गरेको छ भने, ट्राफिक प्रहरीले ४ करोड ५ लाख ५४ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ ।

झापा प्रहरीले अघिल्लो आर्थिक वर्षमा ३ करोड ८३ लाख १२ हजार ५ सय २० रुपैयाँ राजस्व संकलन गरेको थियो । यही वर्ष ट्राफिक प्रहरीले ४ करोड ३ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । अघिल्लो आर्थिक वर्षको राजस्व संकलनलाई तुलना गर्दा आव २०७६-२०७७ मा झापा प्रहरीले भन्सारछली, चोरी तस्करी नियन्त्रणबाट भएको राजस्व संकलनमा ३४ प्रतिशतले वृद्धि गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए ।

ट्राफिक प्रहरीले यस वर्ष गत वर्षको तुलनामा १७ लाख ४५ हजार रुपैयाँ राजस्व बढाएको छ । ट्राफिकले गत वर्ष जिल्ला प्रहरीको तुलनामा १० प्रतिशत बढी राजस्व संकलन गरेको थियो । ट्राफिक प्रहरीले यस वर्ष राजस्व बढाए पनि जिल्ला प्रहरीको तुलनामा ४ प्रतिशत कम राजस्व संकलन गरेको छ । झापा प्रहरीले विगत ३ वर्षदेखि संकलन गर्दै आएको राजस्व हेर्ने हो भने हरेक वर्ष बढ्दो दरमा छ । आर्थिक वर्ष २०७४-०७५मा १ करोड ५५ लाख २७ हजार ८ सय ५४ रुपैयाँ राजस्व संकलन गरेको झापा प्रहरीले आर्थिक वर्ष २०७५-०७६मा २ करोड २७ लाख ८४ हजार ६ सय ६६ रुपैयाँ राजस्व संकलन गरेको थियो । यसरी हरेक वर्ष झापा प्रहरीले राजस्व वृद्धि गर्दै लगेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जनाए ।

फिल्डमा खटिएका प्रहरीको मेहनत त लगावका कारण राजस्व वृद्धिमा सहयोग पुगेको एसपी कोइराला बताउँछन् । “हामीले रात दिन नभनि फिल्डमा प्रहरीलाई खटाएका छौँ” कोइरालाले भने,“जस अनुरुप हरेक वर्ष राजस्व वृद्धिदर बढ्दो छ ।” प्रहरीले भन्सार छली, चोरीनिकासी, पैठारी, जरिवानालगायतमा राजस्व संकलन गर्दै आएको छ । प्रहरीले आर्थिक वर्ष २०७६-२०७७ मा १ करोड २० लाख ३७ हजार ६ सय ५५ रुपैयाँ जरिवाना वापत संकलन गरेको छ । अदालतले जरिवाना फैसला गरेर पनि फरार रहेका अभियुक्त पक्राउ गरी सो राजस्व संकलन गरिएको हो । सिमा क्षेत्रमा हुने चोरी पैठारी नियन्त्रणमासेत प्रहरीको सक्रियताका कारण राजस्व संकलन बढेको कोइरालाको भनाई छ ।

“यस वर्ष ५ करोड बढी राजस्व संकलन हुने अनुमान गरेका थियौँ” झापा ट्राफिक प्रमुख प्रहरी निरीक्षक प्रकाश जवेगुले भने, “लकडाउनको कारण लक्ष्य अनुसार राजस्व संकलन हुन नसके पनि गत वर्षको तुलनामा बढी संकलन भएको छ ।” ट्राफिक प्रहरीले लकडाउनको समयमा ९२ लाख बढी राजस्व संकलन गरेको थियो । ट्राफिक प्रहरीले पछिल्लो समय दुर्घटना न्यूनीकरणका लागि सचेतना अभियान सञ्चालन र चेकजाँचमा जनशक्ति परिचालनलाई सँगसँगै अघि बढाउँदै लगेको जबेगु बताउँछन् । ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने, चोरीका सवारीसाधन बरामद, ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालक र सवारीसाधनलाई कारबाही गरेर राजस्व संकलन गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्