बैना लिएर जग्गा पास नगरेपछि अपहरण, पूर्व प्रहरी सहयोगी



०४ श्रावन २०७७, काठमाडौं

काठमाडौंको टोखा बस्ने रामबावु शाह शुक्रवार विहान ‘अपहरण’ मा परे । धनुषा घर भएका शाहलाई शुक्रवार बिहान ८ बजेतिर टाटासुमोमा आएको एउटा समूहले नियन्त्रणमा लिएर भक्तपुरको लोकन्थलीमा लगेर बन्धक बनाए ।

लोकन्थलीस्थित आशालाल प्रजापतिको घरमा रहेको दिव्यश्वरी हार्डवेयरमा बन्धक बनाएर राखेको अवस्थामा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले रामबावुको उद्धार गरेको छ । अपहरणमा संलग्न आशालाल प्रजापति, पुरुषोत्तम गिरी र हिराकाजी कुमालसहित सात जनालाई नियन्त्रणमा लिइएको अपराध महाशाखाका प्रमुख (एसएसपी) दिपक थापाले जानकारी दिए ।

जग्गा बैना बिवाद
रामबावुकी दिदी सुमित्रादेवी शाहको नाममा लोकन्थली र जडिबुटी बीच मनोहरा फाँटमा ८ आना जग्गा थियो । सो जग्गा बेच्न सुमित्रादेवीले रामबावुलाई वारेस (अधिकार) दिएकी थिइन् । लोकन्थलीका आशालाल प्रजापतिले ०७६ माघ ८ मा प्रतिआना ४६ लाखको दरले किन्नेगरी बैना गरे । बैना बापत आशालालले २५ लाखको चेक दिए ।

सोही जग्गा आशालालले सिञ्चाई विभाग जावलाखेलमा कार्यरत ईन्जिनियर अशोककुमार सिंहलाई बिक्री गर्नेगरी ३२ लाख बैना लिए । तर, रामबावुले जग्गा पास गरिदिएनन् । रामबावु सम्पर्कविहिन भएपछि आशालाल र अशोककुमार सिंहको बैना रकम जोखिममा पर्यो ।

बैना रकम जोखिममा परेपछि आशालाल आफुलाई रामबावुसँग चिनजान गराउने सम्पर्क व्यक्तिकहाँ पुगे । उनी थिइन्, धनुषा बस्ने सावित्री गिरी । सावित्रीले पटक–पटक आग्रह गर्दा पनि रामबावुले जग्गा पास नगरेपछि उनले शुक्रवार विहानै धनुषाबाट केही मानिससहित रिजर्भ टाटासुमो पठाएर, अपहरण गर्न भनिन् ।

पूर्व प्रहरी सहयोगी
धनुषाबाट आएको सुमो शुक्रबार बिहान आशालालको घरमा रोकियो । सुमोमा आएका मानिसले रामबावुलाई चिन्थे । भक्तपुरबाट सावित्रीका श्रीमान पुरुषोत्तम गिरी र हिराकाजी कुमाल सुमोमा चढे । उनीहरु टोखा पुगेर रामबावुलाई गाडीमा राखे, अनि लोकन्थलीमा आशालालको दिव्यश्वरी हार्डवेयरमा पुर्याएर बन्धक बनाए ।

अपहरणमा संलग्न हिराकाजी कुमाल अवकाशप्राप्त प्रहरी सहायक निरीक्षक (असई) हुन् । पूर्व प्रहरीको सहयोगमा अपहरण गरेपछि आशालालको मोवाईलबाट रामबावुको छोरालाई फोन गरेर ‘२५ लाखको चेक’ फिरौती मागे । अनि, रामबावु पुत्र राहुलले प्रहरी कन्ट्रोलमा फोन गरेर आफ्नो बुवा अपहरणमा परेको जानकारी दिए ।

महानगरीय अपराध महाशाखाका प्रहरी उपरिक्षक (एसपी) होविन्द्र बोगटीको नेतृत्वमा खटिएको टोलीले रामबावुलाई लोकन्थलीबाट सकुशल उद्धार गरेको छ । अपहरणमा संलग्नहरुलाई थप अनुसन्धान र कारवाहीका लागी महानगरीय प्रहरी परिसर टेकुमा पठाइएको एसएसपी दिपक थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्