कोभिड १९ : बढी प्रभावित प्रदेश नं. १, कर्णाली प्रदेशमा संक्रमण छैन



२३ वैशाख २०७७, काठमाडौं

कोभिड १९ (कोरोना भाइरस)फैलिन नदिन संघीय सरकारद्वारा निर्देशित बन्दाबन्दी (लकडाउन्)को पछिल्लो पटक थपिएको अवधि सकिने दिन नजिकिँदै गर्दा संक्रमितको संख्या बढेको बढ्यै छ ।

यो समाचार तयार पार्दासम्म नेपालमा संक्रमितको संख्या आजसम्म ८२ भनेर आधिकारिक जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको छ । त्यसमा धेरै पुरुष रहेका छन् ।

मंगलबार (आज) मात्र बाँकेको नेपालगञ्‍ज उपमहानगरपालिका ८ का ७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमण पुष्‍टि भएकाहरूमा तीन महिला, तीन पुरुष र एक बालिका छन् ।

भेरी अस्पतालको प्रयोगशालालामा परीक्षण गर्दा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि गत २१ वैशाखमा एकैदिन त्यहाँ १५ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसअघि नै नेपालगंजमा एकजना भेटिएका थिए ।

अब नेपालगञ्‍जमा मात्र २३ जना कोरोना भाइरसका बिरामी फेला परिसके । महाशाखाका अनुसार सबैभन्दा बढी प्रदेश नं. १ मा ३१ जना संक्रमित भेटिएका छन् । त्यसमा भोजपुरमा एक, झापामा दुई र उदयपुरमा २८ जना संक्रमित फेला परेका हुन् ।

प्रदेश नं. ५ मा रुपन्देहीमा एक र नेपालगञ्‍जमा २३ समेत २४ जना संक्रमित देखिएका छन् । प्रदेश नं. २ मा १३ जनामा पोजिटिभ देखिएको छ । जसमा पर्सामा सात, बारामा दुई, रौतहटमा तीन र सर्लाहीमा एकजना छन् ।

सात जना संक्रमित फेला परेको बागमती प्रदेशमा चितवनमा दुई र काठमाडौंमा पाँचजना संक्रमित पाइएको महाशाखाले जनाएको छ । यस्तै कञ्‍चनपुरमा एक र कैलालीमा चार गरी सुदूरपश्‍चिम प्रदेशमा पाँचजना संक्रमित फेला परेका छन् ।

त्यस्तै गण्डकी प्रदेशमा बागलुङमा दुईजनामा पुष्‍टि भएको छ । सात प्रदेशमध्ये कर्णाली प्रदेशमा मात्र अहिलेसम्म संक्रमित भेटिएका छैनन् । अहिलेसम्म १६ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्