यी १० तथ्यका आधारमा नेपालीहरु कोभिड-१९ सँग डराउनुपर्दैन !



०६ वैशाख २०७७, काठमाडौं

कोरोना भाइरस (कोभिड–१९)ले महामारीको रुप लिएपछि विश्व अहिले आक्रान्त मात्र छैन, अकल्पनीय मानवीय क्षति बेहोर्न पनि विश्व समुदाय बाध्य छ ।

चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरससँग लड्न अहिलेसम्म विश्वका कुनै पनि वैज्ञानिकहरुले भ्याक्सिन पत्ता लाउन सकेका छैनन् । यद्यपी, कोरोनाबारे धेरै वैज्ञानिक तथा विशेषज्ञ चिकित्सकहरुले निरन्तर खोज तथा अनुसन्धान भने जारी राखेका छन् ।

कोरोनाविरुद्ध लड्न चिकित्सकहरुले विभिन्न सल्लाह, सुझाव र परामर्श दिँदै आएका छन् । यसै सन्दर्भमा कोरोना भाइरस संक्रमणको महामारीबारे नविन जानकारी दिइराख्ने जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले नेपालीले आत्तिनु नपर्ने बताएका छन् ।

शनिबार बिहान सामाजिक सञ्जाल फेसबूकमा १० तथ्य सार्वजनिक गर्दै डा. पाण्डेले नेपालीले कोरोनाबाट बच्न सतर्कता र सावधानी अपनाउनुपर्ने भएपनि आत्तिनुपर्ने अवस्था नभएको उल्लेख गरेका छन् ।

डा. पाण्डेले लेखेका छन्, ‘हाम्रो देशमा देखिएको कोरोना संक्रमण अरु देशभन्दा फरक छ । सामान्यतया: अन्य देशमा ठूलो ज्वरो, लहरे सुख्खा खोकी, सास फेर्न गाह्रो, पखाला आदि लक्षण देखिएपछि अस्पताल जाने, टेस्ट गर्ने अभ्यास छ । हाम्रो देशमा देखिएका १ जनाबाहेक सबै बिरामी बाहिरबाट आएका, संक्रमण भएको धेरै दिन भएका तर लक्षण नदेखिएका हुन् । उनीहरू बिरामी भएर अस्पताल गएका हैनन् । उनीहरूलाई सरकारले खोजेर वा सूचना पाएर जाँच गर्दा पोजिटिभ देखिएका हुन् । ती ३० जनामा झण्डै आधा त भारतीय नागरिक हुन् ।’ ‘सतर्क रहौं, शंकास्पद व्यक्ति कतै देखिएमा प्रहरीलाई खबर गरौं ! मन बलियो बनाऔं ! शरीर गाडी हो भने म ड्राइभर ! ड्राइभर सचेत र परिपक्व भयो भने दुर्घटना हुँदैन ।’

यी हुन् डा. पाण्डेले प्रस्तुत गनुृभएका १० तथ्यः–
१, विश्वमा हाल २२ लाख ५० हजार ७ सय ५७ जना कोरोना भाइरसबाट संक्रमित हुँदा नेपालमा ३० जना मात्र संक्रमित हुनुलाई डरको बिषय मान्नुपर्दैन । विश्वमा १ लाख ५४ हजार २ सय ६२ जनाको कोरोना संक्रमणबाट मृत्यु हुँदा नेपालमा यो रोगबाट १ जनाको पनि मृत्यु भएको छैन ।

२, हाम्रो देशमा देखिएको कोरोना संक्रमण अरु देशभन्दा फरक छ । सामान्यतया: अन्य देशमा ठूलो ज्वरो, लहरे सुख्खा खोकी, सास फेर्न गाह्रो, पखाला आदि लक्षण देखिएपछि अस्पताल जाने, टेस्ट गर्ने अभ्यास छ । हाम्रो देशमा देखिएका १ जना बाहेक सबै बिरामी बाहिरबाट आएका, संक्रमण भएको धेरै दिन भएका तर लक्षण नदेखिएका हुन् । उनीहरु बिरामी भएर अस्पताल गएका हैनन् । उनीहरुलाई सरकारले खोजेर वा सूचना पाएर जांच गर्दा पोजिटिभ देखिएका हुन् । ती ३० जनामा झन्डै आधा त भारतीय नागरिक हुन् । ३, ३० जना संक्रमित मध्ये १ जना धेरै पहिले निको भइसकेका छन् । बाँकी संक्रमित अस्पतालको आइसोलेसन वार्डमा छन् । उनीहरुले भनिरहेका छन् – हामीलाई केहि पनि गाह्रो भएको छैन । त्यस्तै १ जना पनि गम्भीर भएर आइसीयु वा भेन्टिलेटरमा जानु परेको छैन ।

४, अरु देशमा अचानक बिरामी हुने, लक्षण फटाफट बढ्ने, अस्पताल जाने, आइसीयु भर्ना हुने जस्ता घटना भइरहेका छन् । हामीकहाँ बाहिरबाट नेपाल आएको १ महिना पुरा हुँदा पनि टेस्टमा पोजिटिभ देखिएको छ। तर लक्षण देखिएको छैन यसको मतलब उनीहरुमा ‘सक्रिय संक्रमण’ छैन ।

५, यी तथ्यबाट के बुझिन्छ भने या कोरोना भाइरस Mutation हुँदै गर्दा हामीकहाँ कमजोर Strain वाला देखिएको छ वा हाम्रो हावापानी, खानपिन, रहनसहन आदिले गर्दा हाम्रो इम्युनिटी पावर धेरै छ । यो अनुसन्धानको बिषय हो ।

६, भारत लगायत दक्षिण एसियामा फैलिएको भाइरस समेत कमजोर देखिएको छ। अहिलेसम्म भारतमा १४ हजार ३ सय ५२ जना संक्रमित हुँदा मृतकको संख्या ४८६ मात्र छ । दक्षिण एसियाका अन्य देशमा संक्रमण एकदम सुस्त गतिमा छ ।

७, लकडाउनको पूर्ण पालना तथा नेपालले गरेको भन्दा २ हप्ता पहिले बोर्डर शिल एबम एयरपोर्ट बन्द गरेको भए हामीकहाँ एउटा मात्र संक्रमितकेस हुने रहेछ ।

८, घना बस्ती रहेको काठमाडौं उपत्यका, बुटवल, पोखरा, बिराटनगर, नेपालगंज लगायत ठाउँमा कोरोना संक्रमण नफैलिनु निकै सुखद कुरा हो । त्यस्तै कुपोषण, अशिक्षा, सरसफाइमा कमी, गुजुप्प बस्ती रहेका ठाउँ पनि अहिलेसम्म संक्रमित देखिएका छैनन् ।

९, सरकारले टेस्ट नगरेर यस्तो देखिएको हो भनेर भन्न मिल्दैन । कोरोना संक्रमण बढेको भए सिकिस्त हुने वा मृत्यु हुनेको संख्या पनि बढ्ने थियो । नियमित जन्म र मृत्यु त भइरहेका थिए, छन् ।

१०, यदि सरकारले न्यून आय भएका व्यक्तिलाई पुग्दो राहत दियो भने, लकडाउनलाई अझै कडा गर्यो भने र बोर्डरलाई अझै कडा रुपमा शिल गर्यो भने नेपालमा यसको प्रकोप फैलिने कडी थप कमजोर बन्नेछ । डा.पाण्डे सुझाव दिँदै लेख्नुहुन्छ ‘सतर्क रहौं, शंकास्पद व्यक्ति कतै देखिएमा प्रहरीलाई खबर गरौँ ! मन बलियो बनाऔं ! शरीर गाडी हो भने म ड्राइभर । ड्राइभर सचेत र परिपक्व भयो भने दुर्घटना हुँदैन ।

|तस्वीरमा डा. रवीन्द्र पाण्डे। श्रोतः फेसबूक|

प्रतिक्रिया दिनुहोस्