चमेरोमा देखियो नयाँ कोरोना भाइरस, कसरी सर्छ मानिसमा ?



०३ वैशाख २०७७, काठमाडौं

भारतमा चमेराका दुई प्रजातिमा पनि कोभिड १९ (कोरोना भाइरस) संक्रमण भएको पत्ता लागेको छ ।

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसिएमआर)को अध्ययनमा यस्तो खुलासा भएको हो । भारतका केरला, हिमाञ्चल प्रदेश, पुडुचेरी, तमिलनाडुका २५ चमेरोमा नयाँ भाइरस पाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यी सबै चमेरा Rousettus र Pteropus प्रजातिका रहेका छन् । उक्त अध्ययनलाई हालै इन्डियन जर्नल अफ मेडिकल रिसर्चमा प्रकाशित गरिएको छ । पुनेको नेशनल इन्टिच्युट अफ भाइरोलोजी (एनआइभी)का वैज्ञानिक प्राडा प्रज्ञा डी यादवले यो भाइरस मानिसमा सर्न सक्ने सम्भावना रहे पनि अहिलेसम्म यसमा अनुसन्धान हुन नसकेको बताएका छन् ।

मानिसमा सरेको अहिलेसम्म प्रमाण भने फेला परेको छैन । रिसर्च पेपर लेख्ने वैज्ञानिक यादवले बिटी कोरोना भाइरस कोभिड १९ सँग कुनै सम्बन्ध नरहेको पनि बताएका छन् ।

उनले चमेरामा यसअघि नै निपाह भाइरससमेत फेला परेको जानकारी दिएका छन् । चमेरोमा प्राकृतिक हिसाबले विभिन्न प्रकारका भाइरस रहेका हुन्छन् । यसमा केही भाइरस मानिसका लागि घातक हुन्छन् ।

तर चमेरोलाई यी भाइरसले कुनै नोक्सानी गरेका हुँदैनन् । यसअघि चीनको वुहानमा चमेरोका कारण मानिसमा कोभिड १९ फैलिएको अनुमान गरिएको थियो ।

वैज्ञानिकहरुले मानिसमा हुनसक्ने संक्रमणका विषयमा थप अध्ययन आवश्यक रहेकोमा जोड दिएका छन् । रिसर्चमा बिटी कोरोना भाइरस मानिसमा सर्न सक्ने र त्यसको खतराका विषयमा लगातार निगरानी आवश्यक रहेकोमा जोड दिइएको छ ।

चमेरोबाट मानिसमा सरेको अनुमान गरिएको कोभिड १९ बाट अहिलेसम्म झण्डै १ लाख २७ हजारले ज्यान गुमाइसकेका छन् । एजेन्सीको सहयोगमा–

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्