विश्व बैंकको प्रक्षेपण : ‘नेपालको आर्थिक बृद्धिदर १.५ प्रतिशतमा सीमित हुनसक्छ’



३० चैत्र २०७६, काठमाडौं

चालू वर्ष नेपालको आर्थिक बृद्धिदर १.५ प्रतिशतमा सीमित हुन सक्ने विश्व बैंकले अनुमान गरेको छ ।

दक्षिण एसिया क्षेत्रको आर्थिक अवस्थाको झलक सार्वजनिक गर्दै बैंकले अप्रत्यासित रुपमा आएको कोरोना महामारीका कारण अर्थतन्त्रमा सिथिलता आउन सक्ने प्रक्षेपन गरेको हो ।

यो वर्षको आर्थिक बृद्धिदर १.५ देखि २.८ प्रतिशसम्मको बीचमा सीमित हुने बैंकको प्रक्षेपन छ । न्यून रेमिट्यान्स, व्यापार र पर्यटन ठप्प, अन्तरदेशीय आवागमनमा लागेको रोकका कारण अर्थतन्त्रमा नराम्रो प्रभाव पार्ने निश्चित छ ।

पछिल्लो समयको महामारीका कारण सेवा क्षेत्र पनि ठप्प भएका कारण आर्थिक बृद्धिदर प्रभावित हुने बैंकको अनुमान छ । अहिलेको अवस्था कति समय लम्बिन्छ भन्ने कुराले बृद्धिदर तय हुने बैंकले बताएको छ ।

अहिलेको अवस्था आर्थिक वर्षको अन्त्यसम्म पुगेमा १.५ प्रतिशतसम्म सिमित हुने छ । त्यसअघि नै सामन्य भए पनि यो वर्षको बृद्धिदर २.८ प्रतिशतभन्दा बढी नहुने बैंकले जानकारी दिएको छ ।

अत्यावश्यक वस्तु बाहेकको आयात पनि रोकिएको अवस्थामा एकातिर सरकारी खर्च बढ्दै जाने र अर्कोतिर राजश्व पनि न्यून संकलन हुने अवस्थामा सरकारको बजेट घाटा बढ्दै जाने बैंकले अनुमान गरेको छ ।

बैंकले यो वर्ष नेपालमा सरकारी खर्च ६ प्रतिशतले बढ्ने र निजी खर्च १.५ प्रतिशतले घट्ने प्रक्षेपन गरेको छ । त्यस्तै वर्षभर देशमा पुँजीगत लगानी ८ प्रतिशतले घट्न् प्रक्षेपन गरेको छ ।

त्यस्तै बैंकले कोरोना महामारीका कारण नेपालमा गरिबी बढ्ने प्रक्षेपन गरेको छ । रेमिट्यान्स आम्दानी घट्नु, अनौपचारिक क्षेत्रका कामदारले रोजगारी गुमाउनु तथा अत्यावस्यकीय वस्तुको मूल्य बढ्दा गरिबी झनै बढ्ने बैंकको अनुमान छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्