बालबालिकाहरुसँग खेलौं !



२३ चैत २०७६, लमजुङ

बालबालिकाहरुको स्वाभाव नै जिज्ञासु, चन्चले र उत्सुक खालको हुन्छ । उनीहरुलाई सम्झाएर बुझाएर मात्र नियन्त्रणमा राख्न सकिन्छ । चर्को स्वरमा बोलेर, डर देखाएर उनीहरुको बाल मष्तिस्कमाथि नियन्त्रण राख्न खोज्नु मूर्खता हो । बालबालिकाहरु उमेरले नै साना, हसिलो अनुहार, सरल बोली अनि नयनमा छर्लङ्ग भविष्य दर्शाइरहेको महसुश हुन्छ । विदाको बेलामा होस् या वार्षिक परिक्षा सकिए पश्चातको लामो बिदामा होस्, बालबालिकाहरु विशेष गरी घुम्न मन पराउछन । अभिभावकहरुको समय व्यस्तताको कारण कतिपय बालबालिकाहरु आफै भित्र घुम्सिरहेका हुन्छन् । उनीहरुले आफ्नो परिवारसँग प्रशस्त रुपमा घुलमिल भएर खेल्न खोजिरहेका हुन्छन् । बालबालिकाहरुको मनोवृत्ति बुझ्न उनीहरुसँग नै केहीबेर खेल्नु पर्दछ । उनीहरुको भावना बुझ्दै गएमा मात्र विस्तारै उनीहरु खुल्दै आउनेछन र तपाइ प्रति आत्मीय हुनेछन ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणबाट रोकथामको निमित नेपाल लगाएत विभिन्न राष्ट्हरु लग डाउनको अवस्थामा पुगेको कारण अधिकामस नेपालको विद्यालयहरु पनि वार्षिक परीक्षाहरु चाडो सकाएर विद्यालयहरु बन्द भइसकेका छन् । विभिन्न कार्यालयहरु, यातायात र कामहरु सबै रोकिएका अवस्थामा छन् । यो समयमा बालबालिकाहरु कोठा भित्र थुनिएर बस्न बाध्य भएका छन । आफ्नो बालबालिकाहरु सँग नजिकिन र उनीहरुको प्रतिभा, क्षमता पहिचान गर्न यो समयको निकै उपयोगी बनाउन सकिन्छ । साथै यो समयमा अभिभावकहरुले आफ्नो बालबालिकाहरुलाइ प्रयाप्त समय र ध्यान नदिएको खण्डमा बालबालिकाहरुलाइ समयको सहि सदुपयोग गर्न कठिन हुनुका साथै उनीहरुले विभिन्न जोखिम मोल्नुपर्ने अवस्था सिर्जना हुनसक्छ । बालबालिकाहरुले शारीरिक, मानसिक समस्या झेल्नु परेको हुनसक्छन । उनीहरु आफ्नै घरभित्र पनि दुर्व्यवहार, हिँसा, बलात्कारका सिकार हुनसक्छन । बालबालिकाहरुलाइ बिदाको समयमा सक्रिय बनाएर उनीहरुसँग खेल्न तलका केहि बुँदाहरु प्रभावकारी हुन्सक्छन ।

१ ) साथी बन्ने
अभिभावक नै बालबालिकाहरुको पहिलो साथी हुन् भन्ने कुरा आफ्ना बालबालिकाहरुलाइ बोध गराउनु आवश्यक छ । उनीहरुको कुरा सुन्नुपर्दछ र सोही अनुसार उनीहरुलाई सल्लाह सुझाब दिदै होसला दिनुपर्दछ । बालबालिकाहरुको मनोवृत्ति बुझेर उनीहरुलाई एकोहोरो काममा मात्र व्यस्त गराउदा उनीहरु मानसिक रुपमा स्वस्थ हुनसक्दैनन् । उनीहरुलाई दिनहु समय तालिका बनाएर खाने, खेल्ने, पढ्ने समय निर्धारित गरेर उनीहरुको आत्मीय साथी बनेर खेल्ने प्रयास गर्नुपर्छ ।

२ ) घरायसी काम सिकाउने
बालबालिकाहरुलाइ उमेर सँगै घरायसी काम जस्तै कपडा मिलाउने, पानी उमालेर खाने, चिया पकाउने, जस्ता कामहरुमा सँग्लन गराउन सकियो भने उनीहरुलाइ नैतिक साथै व्यहारीक बनाउन सकिन्छ । आजको हाम्रो बालबालिकाहरुको सिकाइ प्रणालीलाइ निहाल्ने हो भने कतै बालबालिकाहरु किताबी किरो मात्र त भएका छैन् भन्ने भय रहेको छ । त्यसैले घरभित्रको स- साना कामहरुले बालबालिकाहरुलाइ आफ्नो अधिकारका साथै थप जिम्मेवार पनि बनाउछ ।

३ ) सरसफाइमा ध्यान दिने
व्यक्तिगत तथा पारिवारिक सरसफाईमा ध्यान दिनुपर्ने हुन्छ । साबुन पानीले राम्ररी हात धुने, सफा कपडा लगाउने, हात खुट्टाको नङ काट्ने, नुहाउने, ब्रस गर्ने इत्यादी । सरसफाईमा विशेष ध्यान दिनुपर्दछ ताकी कोरोना मात्र नभएर विभिन्न किटाणु र रोगको संक्रमणबाट जोगिन सकिन्छ । बालबालिकाहरुलाइ सरसफाइको महत्वबारे पनि सम्झाउदै दैनिक क्रियाकलापहरुमा अग्रसर गराउनु आवश्यक छ । नियमित सरसफाई गर्नाले हामी स्वास्थ्य जीवन जिउन सक्छौ भन्ने कुरा घरैबाट बालबालिकाहरुलाइ सिकाउनु पर्दछ ।

४ ) प्रशस्त पानि र पोषणयुक्त खानेकुरा खाने
हरेक दिन प्रशस्त पानि र पोषणयुक्त खानेकुरा हाम्रो शरीरलाई अति आवश्यक पर्दछ । बालबालिकाहरुलाइ घरमा पाइने पोषणयुक्त खानाहरुको विभिन्न परिकारहरु बनाएर समय समयमा नै दिनुपर्दछ । उनीहरुलाई पनि विभिन्न खानेकुराको परिकार बनाउने विधि सिकाएर खाना बनाउन संलग्न गराउन सकिन्न्छ । प्राय बालबालिकाहरुले हरियो सागसब्जीहरु खान रुचाउदैन्न । उनीहरुलाई यसको महत्व र शरीरको आवश्यकता बुझाएर केही मात्रामा भए पनि खुवाउने गर्नुपर्दछ । पोशिलो खानाले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै स्वास्थ्य रहन मद्धत गर्दछ ।

५ ) शारीरिक व्याम हुने खेल खेल्ने
स्वच्छ र फुर्तिलो हुनका निमित शारीरिक व्याम हुने खेलहरु खेल्नु ठिक हुन्छ । आजभोलि बालबालिकाहरु दिनभरी टि भी, भिडियो गेम, मोबाइल तथा ल्यापटपमा व्यस्त हुन्छन् । अभिभावकहरुले आफ्नो बालबालिकाहरुलाइ घरभित्रै वा घर वरिपरिको खुल्ला क्षत्र जस्तै आगन, घरको कौसीमा सतर्कता साथ शारीरिक व्याम हुने खेलहरुमा सक्रिय गराएमा उनीहरु शारीरिक रुपमा पनि स्वास्थ्य र समयको पनि सदुपयोग हुन्छ । जसले गर्दा बालबालिकाहरुलाइ एक्लोपना र इन्टरनेट सुरक्षाबाट पनि सचेत गराउन सकिन्न्छ ।

६ ) सही सुचना प्रभाह गर्ने
बालबालिकाहरु नयाँ कुरा जान्न र सिक्न ज्यादै इच्छुक हुन्छन । उनीहरुलाई सहि सुचना प्रभाह गर्नुपर्दछ । कोरोनाको बारेमा जानकारी , सचेतना र अवस्था बारे अवगत गराउनु पर्दछ भने उनीहरुको बाल मस्तिष्कमा डर र त्रास उत्पन्न हुन् दिनु हुदैनन् । बालबालिकाहरुलाइ उनीहरुको साथीहरु लगायत आफन्तसँग कुराकानी गराई परिस्तिथिको बारे सहि सुचना मात्र दिनु पर्दछ । जसको कारणले बालबालिकाहरुमा सकारात्मक सोचको विकास गराउन सकिन्न्छ ।

सानो बेलाको जस्तै गरी हरेक अभिभावकहरुले आफ्नो छोराछोरीहरुलाइ साथी सरह व्यवहार गर्नु र उनीहरुको विचार र काममा हौसला दिनु आजको व्यवहारीक पक्ष रहेको छ । आफ्नो बालाबालिकाहरुलाइ सत्मार्ग देखाउनको निमित उनीहरु सँगै घुलमिल भइ उनीहरुको चाहना र इच्छा बुझेर सोहि अनुसार उनीहरुलाइ आफ्नो शिप र क्षमतामा अब्बल बनाउन जरुरी हुन्छ ।

बालबालिकाहरुलाई बुझ्न नसक्दा र उनीहरुको क्रियाकलापप्रति अभिभावकहरुले चासो र जानकारी नलिदा बालबालिकाहरुले आफ्नो कुरा समयमा बताउन नसक्दा आफ्नो समस्या र गतिविधिहरु लुकाउन खोज्दछन र त्यसको जोखिममा मुछिएका हुन्छन । बालबालिकाहरुलाई प्रयाप्त समय दिन नसक्दा उनीहरुले विस्वाशिलो मान्छेको साथ नपाउने डर र आफ्नो कुरा खुलेर भन्न सकेका हुदैनन् । त्यसकारण उनीहरुमा मानसिक तथा अन्य समस्याहरुले जरो गाडेको हुन्छ र उनीहरु दुर्व्यवहार, बलात्कार, हिंसा, र अन्य समस्यामा परेका हुन्छन् । यस्तै समस्या, जटिलताको सामना गर्न र बिदाको सहि सदुपयोग गर्न अभिभावक नै बालाबालिकाहरुको नजिकको र आत्मीय साथी बनेर बालबालिकाहरुसँग खेल्न सक्दछन् ।

प्रतिक्रिया दिनुहोस्