‘रगतको आँसु !’



 

‘रगतको आँसु !’

सुन्तली अर्धबैंसे उमेरकी, दस वर्ष पहिले धनेसङ्ग बिहे भएको हो । आफू पनि उच्च शिक्षा पढ्न नपाएको र सबैले हेपेको हुँदा आफ्ना सन्तानलाई दुःख गरेर भए पनि राम्रै स्कूलमा पढाउने भनेर शहर पसेका हुन् धने र सुन्तली ।

पहाडको अंशमा पाएको जग्गा-जमीन बेचेर अलिकती पैसा नि च्यापेका थिए । बैंकमा सेक्युरिटी गार्डमा काम गर्न थालेपछि त्यही बैंकले ‘होम लोन’ दिने थाहा भयो र त्यही सुविधा लिएर थपथाप गरेर दुईतले घर किने ।

एक तला भाडामा लाउने अनि त्यही पैसाले घर खर्च र बच्चाको पढाइ खर्च पुर्‍याउने अनि धनेको तलबले चाहीँ लोन कटाउने सल्लाह भयो । बिहान-बेलुका घरधन्दा र दिउँसो घरै बसेर अर्डरको स्वीटर बुन्ने काम गर्न थाली सुन्तली पनि ।

बच्चाले खरर… अङ्ग्रेजी पढेको सुन्दा गर्वले छाती मुसार्थे दुवै जना । दैवको लिला, घर किनेको वर्षदिन नपुग्दै बाटोमा बाइकले हान्दिएर धनेको मृत्यु भयो । सुन्तली र ती दुई सन्तानमाथि सोच्नै नसक्ने बज्रपात पर्‍यो ।

पूरै आकाश झरेर किचे झैं भयो, ब्रह्माण्डै पल्टिए झैं भयो । न टेक्ने ठाउँ, न समाउने हाँगो, अब आफू बस्ने फ्लाइटको तीन कोठा नि भाडामा लगाएर आफुहरू एउटै कोठामा गुजारा चलाउन थालेका थिए । त्यही भाडाले बच्चाको फि तिर्न र बैंकको लोन तिर्न पुर्‍याउनु छ सुन्तलीलाई ।

प्रत्येक साँझ भाडामा बस्नेको कोठामा बनेको परिकारको बासनाले छोराछोरी आमाको मुखतिर हेरिरहन्छन् । सरकारले चैत्र महिनाको घरभाडा छुट गर्ने निर्णय गरेपछि भाडावालाहरू उत्सव मनाउँदैछन् सायद, कोही बियर खोल्दैछन्, कोही फेन्टा अनि कोहि सेकुवा पोल्दैछन् ।

घरको गेटमा एउटा मान्छे आउँछ र पत्र थमाउँछ । बैंकको लोन पुर्जी, सो पत्रमा छ महिनादेखिको लोनको सावाँब्याज अनि जरिवाना जोडिएको रसिद हुन्छ ।

पत्र छोडेर बैंकको कर्मचारी फर्किन्छ । ठिङ्ग उभिएकी सुन्तलीको सेतो सारीभरी तप्प तप्प राता दागहरू बढ्दैछ सायद आँसुमा रगत मिसिएर झर्दैछ ।

सारीकै सप्कोले बिस्तारै आँखा पुच्छे ऊ । दुबैजना बच्चाहरू आमाको मुख हेर्छ्न् घरी भाडावालाका छोराछोरीले पोल्दै गरेका सेकुवा र फेन्टाका बोतल हेर्छ्न् ।

यत्तिकैमा बाहिर कतै नभएको हावा-हुरीहुन्डरी चल्छ, असिना दर्किन्छ बेस्सरी । भित्र टेलिभिजनमा सरकार कुर्लिरहेको छ “चैत्र महिनाको घरभाडा छुटको अनुरोध गरेर हामीले जनहितमा काम गरेका छौं।”

लेखिकाः मानवअधिकारकर्मी तथा साहित्यकार हुन् ।

प्रकाशित मितीः १७ चैत्र २०७६, काठमाडौं

डा. सोलुद्वारा लिखित अन्य लेख

⇒ ‘मानवता’

 

प्रतिक्रिया दिनुहोस्