सातै प्रदेशमा कोरोना परीक्षण हुने, टेकु धाउनुपर्ने बाध्यता हट्दै



२० चैत्र २०७६, काठमाडौं

सातवटै प्रदेशबाट आज (बिहीबार)देखि कोरोना भाइरस (कोभिड १९)को नमूना परीक्षण हुने भएको छ ।

सबै ठाउँमा पिसिआर मेसिन पुगेपछि आजबाट सातवटै प्रदेशबाट कोरोना भाइरसको नमूना परीक्षण हुने भएको हो । प्रदेश एकको धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठानमा सोमबारबाट नै परीक्षण सुरु भइसकेको छ ।

अहिले धरानमा दैनिक १२ जनाको स्वाब परीक्षण हुन थालेको प्रतिष्ठानका कार्यवाहक उपकुलपति गुरु खनालले बताउनुभयो । ती सबैको नेभेटिभ रिपोर्ट आएको उनले जानकारी दिए ।

अन्य थप परीक्षण पनि भइरहेको उनको भनाइ छ । यसैगरी गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले मंगलबारबाट स्वाब परीक्षण सेवा सुरु भएको जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म तीन वटा परीक्षण गरिएकोमा दुई जनाको संक्रमण नदेखिएको र एक जनाको भने रिपोर्ट आउन बाँकी रहेको छ । प्रदेश २ को जनकपुर, सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको सुर्खेत, प्रदेश ५ को बुटवल र बागमती प्रदेशको हेटौंडाबाट पनि आजदेखि नमूना परीक्षण हुन लागेको कोभिड–१९ प्रयोगशाला व्यवस्थापन समितिका पुष्पराज खनालले जानकारी दिए ।

खनालका अनुसार यी पाँचै स्थानमा नमुना परीक्षणका लागि प्रोटेबल पिसिआर मेसिनसहित सम्पूर्ण सामग्री पुगिसकेको छ । यसअघि नै प्रयोगशाला सञ्चालन गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनशक्ति खटाइसकेको छ ।

यसअघि काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा मात्र कोरोनाको नमुना परीक्षण हुन्थ्यो । जस्ले गर्दा रिपोर्ट आउन हप्तौंसम्म लाग्ने गदथ्र्यो । सातै प्रदेशमा कोरोनाको नमुना परीक्षण हुने भएपछि अब यो बाध्यता हट्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्