१० दिनमा ४,००० शैयाको अस्पताल तयार [पाँच तस्वीरमा हेर्नुस्]



१९ चैत्र २०७६, काठमाडौं

कोभिड १९ (कोरोना भाइरस)संक्रमित बिरामीहरुको उपचारका लागि ब्रिटिश सेनाले १० दिनमा ४ हजार शैयाको आकस्मिक अस्पताल तयार गरेको छ ।

उक्त अस्पतालको नाम नाईटींगेल अस्पताल राखिएको छ । अस्पतालमा आजदेखि बिरामीहरुको उपचार शुरु हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यसअघि चीनले १० दिनमा १ हजार शैयाको अस्पताल तयार पारेको थियो । पूर्वी लण्डनको डकल्याण्ड जिल्लामा रहेको एक्सेल कन्भेन्सन सेन्टरलाई अस्पतालमा परिणत गरिएको हो ।

त्यहाँ दुई/दुई हजार शैयाका दुईवटा वार्ड निर्माण गरिएको छ । दुई पटक इराक र एक पटक अफगानिस्तानको युद्धबाट जीवित फर्किएका बेलायती सेनाका कर्णेल एथलेस बोरेमले निश्चित समयमा उक्त अस्पताल तयार पार्नु आफ्नो जीवनको सबैभन्दा ठूलो मिसन बनेको बताए छन् ।

उनका अनुसार ब्रिटेनको राष्ट्रिय हेल्थ सर्भिसले यो परियोजनाको नेतृत्व गरिरहेको छ । सन् १९९२ मा सेनामा भर्ना भइ अब केही समय पछि अवकाश पाउन लागेका एशलेगले भने, ‘सेनाको मुख्य उद्देश्य जनताको ज्यान बचाउनु हो । यही विचारबाट प्रेरित भएर नै हामीले यो सफलता हात पारेका हौं ।’

लण्डनका अलावा मेनचेष्टर, बर्मिङ्घम र ग्लासकोमा पनि आकस्मिक अस्पतालहरुको निर्माण कार्य चलिरहेको छ । ब्रिटेनमा अहिले कोरोना संक्रमितको संख्या २५ हजार एक सय नाघेको छ भने १ हजार ७ सय ८९ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै प्रधानमन्त्री बोरिस जोन्सन पनि संक्रमित भइ अहिले आइसोलशनमा छन् । एजेन्सीको सहयोगमा-

|तस्वीरमा १० दिनमा निर्मित अस्पताल । श्रोत |

प्रतिक्रिया दिनुहोस्