उपत्यकाबाहिर बीपी प्रतिष्ठानमा आजबाट ‘कोरोना’ परीक्षण हुने



काठमाडौं । काठमाडौं उपत्यकाबाहिर प्रदेश नं. १ को धरानमा आजबाट कोरोना परीक्षण शुरु हुँदैछ ।

कोरोना परीक्षण ल्याबको प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने कार्यक्रम छ । शुक्रबार नै कोरोना परीक्षणका लागि आवश्यक उपकरण, केमिकल आए पनि आजबाट कोरोना भाइरसको परीक्षण हुन लागेको हो ।

मुख्यमन्त्रीका प्रेस संयोजक ध्रुव सुवेदीले आज ल्याबको उद्घाटन गर्ने कार्यक्रम रहेको बताए । यसअघि प्रदेशमा कोरोनाको आशंका गरिएका विरामीहरुको स्वाब परीक्षणका लागि काठमाडौं नै ल्याउनुपर्ने बाध्यता थियो ।

हवाई सेवा बन्द भएका कारण एम्बुलेन्समार्फत् काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याइँदै आएकोमा अब धरानमै थ्रोट स्वाबको परीक्षण हुने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

प्रदेश १ सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानसहित विराटनगरको कोशी अस्पताल, नोवेल मेडिकल कलेज, विराट शिक्षण अस्पताल, झापाको बिएण्डसी र मेची अस्पताललाई कोरोना उपचार अस्पताल बनाउने तयारी गरिरहेको छ ।

|तस्वीरमा कोरोना परीक्षण। फाइल तस्वीर।|

प्रतिक्रिया दिनुहोस्