सुस्केरा र सुसेली पढ्दा



१५ जेठ २०७६, काठमाडौं

कवियित्री रीता खतिवडाको कवितासङ्ग्रह सुस्केरा र सुसेली सुरुदेखि अन्त्यसम्म पढिहेर्दा धेरै राम्रा कुराहरु पाइए । ती मध्ये केही कविताहरु पढ्दा पाएको अनुभव यस सानो लेखमा समेट्ने प्रयास गरिएको छ । यसमा मेरो निजी दृष्टि र त्यस अनुसारको अभिव्यक्ति छ । अरुसँग मिल्यो वा मिलेन भन्ने होइन ।

आवरणपृष्ठको चित्रलाई हेर्दा क्षितिजमा सूर्य देखिन्छ । सूर्यको एउटै चित्र उदाउँदै गरेको दिशातर्फ आशावादी बनेर युवक आकृति बसेको देखिन्छ भने अर्कोतर्फ युवतीको प्रस्ट चित्रले उही सूर्य अस्ताउँदै गरेको दिशामा टोलाएर हेरेको देखिन्छ ।

एउटै फोटोलाई एक तर्फबाट हेर्दा सूर्य उदाउँदै गरेको जस्तो देखिन्छ भने अर्को तर्फबाट हेर्दा अस्ताएको सूर्य देखिन्छ । चित्र निर्माता र अन्य पारखीहरुका दृष्टिमा फरक लाग्न सक्ला, यस्तो मेरो देखाइमा देखिएको कुरो हो ।

रचनाकारको आफ्नो कुरा र प्रकाशकीयलाई समेत गन्ती गर्दा शुभकामना, भूमिका आदि आठवटा लेख कविताक्रमभन्दा पहिले आएका छन् । ती लेखमा पुस्तकका विषयमा चर्चा भएको छ । सबै लेखमा पुस्तकप्रति सम्मानको भाव छ ।

अनेकौँ पक्षबाट सैद्धान्तिक कुराहरु केलाएर विवेचना गर्ने काम कविताका ठुला विज्ञहरुले गर्ने हो र गरेका पनि होलान् । आफू एक सरल पाठक हुनाले हरेक कवितालाई आफ्नै सहज दृष्टिले हेर्दै जे देखिन्छ सोही उल्लेख गर्दै छु ।

कविताका छन्द, रस, अलङ्कार, गुण, दोष, रीति जस्ता सैद्धान्तिक पक्षहरु समय धेरै लगाएर अध्ययन गर्ने विषय हुन् । यिनको लेखाजोखा गर्ने एक थरी विद्वान् मनग्गे छन् ।

भाषा, व्याकरण, ह्रस्व, दीर्घ, वर्णविन्यास, नयाँ खालको, पुरानो खालको भनेर चर्चा गर्ने अर्का थरी विद्वान्को पनि यहाँ कमी छैन ।

अमुक वाद, प्रणाली, दर्शन, प्रभाव, आस्तिकता, नास्तिकता भनेर कृतिको समीक्षा गर्ने विद्वान्हरु पनि धेरै पाइन्छन् ।

यस छोटो लेखमा, छोटो समयमा तिनको विवेचना गर्न सहज हुँदैन, त्यस्तो विद्वत्ता छाँट्ने प्रयास गरेको पनि होइन र सबै पाठकका लागि त्यो उपयोगी पनि हुँदैन भन्ने लागेर त्यसतर्फ हात हालिएन । केवल कविताको भाव के बुझेको छु, म त्यही लेख्तै छु ।

पहिलो कविताको शीर्षक श्री गणेशाय नमः भन्ने छ । यो कविता पुस्तकको मङ्गलाचरण हो । शीर्षकभन्दा मुनि मङ्गलाचरण भनेर लेखिएको पनि छ । अन्य कविताहरुमा त्यसै ठाउँमा कविताको छन्दको नाम उल्लेख गरिएको छ ।

पाँच श्लोकमा रचित यस कवितामा देवदेवीलाई प्रार्थना गरिएको छ । आरम्भ गरेको कार्य सफल होस् भनेर देवीदेवतालाई प्रार्थना गर्ने हाम्रो सामाजिक धार्मिक नियम हो । देवताका प्रेरणाले कार्य सफल भएको भन्ने विनयी भाव पनि यसले दर्साउँछ ।

त्यसपछि आवाज र अनुभूतिहरु शीर्षकको कवितामा पुस्तक लेखनमा गरेका प्रयास र यसलाई पाठकले पढिदिनुहोला भन्ने गीतमय अनुरोध छ ।

अर्को कविता सुस्केरा र सुसेली छ । यद्यपि सुस्केरामा दुःखको आभास र सुसेलीमा खुसीको आभास हुन्छ तापनि दुःख र सुखको अभिव्यक्ति रोचक रुपमा नै आएको छ । यसको सुस्केरामा केरा र सुसेलीमा सेलको मिठास पाइयो । नपत्याए मलाई के लाग्यो ल हेर्नु-

गति यति हुन्छ भने लय बिग्रिँदैन
सुस्केरामा लय हुन्छ भन्ने सकिँदैन
गीत बोल्छ सुसेलीमा वनै रिझाएर
सुस्केराले भन्ने गर्छ मनै पगालेर

केही गर्छु भन्ने शीर्षकको कविताले आत्मविश्वास र आँटलाई सङ्केत गरेको छ । यसका सबै हरफहरु पढिसक्ता कर्तव्यपरायणताको सन्देश पाइन्छ । त्यति मात्रै होइन, यसै कवितामा परम्पराले आर्जन गरेको विश्वास पनि छ-

चैतन्य अन्तस्तलमा रहेर
भन्दो छ सङ्केत गरी छिपेर
जीवन्त बन्ने दिन सिद्धिँदै छ
पर्ने छ जे, गर् अब आयु के छ !
यस प्रकारको दार्शनिक छनक पनि यस कविता पछि परेको छैन ।

साहित्य शीर्षकको कविता पनि मैले पढेँ । यसमा साहित्यको उद्देश्य प्रस्ट गरेको पक्कै हो । आजका साहित्य स्रष्टा यसप्रति कति सचेत छन् भन्नेतर्फ सोच्न यस पद्यले प्रेरित गरेको देख्छु । अन्तिम पद्य-

साहित्य तिम्रो कति दिव्य नाम
चल्दो छ चर्चा कसरी तमाम
सहित्य तिम्रो गतिशीलतामा
छ मान्यता सृष्टि समग्रतामा

फेरि अर्को कविता साहित्य स्रष्टा शीर्षकमा आउँछ । त्यसमा पुर्खाको कमाइ, विश्वको प्राचीन निधि, वैदिक वाङ्मयलाई सम्मान गरिएको छ । आजका साहित्यका सर्जकले यस वैज्ञानिक निधिलाई बिर्सेकै हुन् कि जस्तो लाग्छ नभए पनि धेरै उपेक्षा भएकै छ । कवयित्रीले त्यसतर्फ सचेत हुँदै भनेको कुरा अत्यन्त मननीय लाग्यो-

स्रष्टाको इतिहास यो जगतमा साहित्यबाटै रह्यो
हाम्रा वेद पुराणकार ऋषिको साहित्यले नै अड्यो ।

त्यसपछि कविताको शीर्षक तिमीलाई पाएपछि भन्ने छ । झट्ट हेर्दा बैँसालु मनले दौँतरी पाउँदा लठ्ठ परेको हो कि भन्ने भाव पनि कवितामा देखिन्छ नै । त्यतिमा मात्रै होइन अक्षरशः पढ्दा कविताले अत्यन्त गहन भाव बोकेको देखिन्छ । जोसँग आफू रहिन्छ ऊसँगको सम्बन्ध बलियो बनाएर सिर्जनशील काममा लाग्नुपर्छ । तल कविताका हरफले भनेको जस्तै व्यवहार गर्न सकियो भने कोही दुःखी हुँदैन-

तिम्रै साथ बसी रहूँ मन भयो छोड्दै नछोडी अब
तिम्रै साथ बिसाउँ झैँ हुन गयो यो भार बोझा सब
तिम्रै अञ्जुलिमा भरुँ नयनको खोली मुहानै सब
तिम्रै साथ सिँगारुँ यो हृदयको उद्गारको सौरभ ।

ढुङ्गामा पनि फुल्छ फूल शीर्षकको कविताले परिश्रमप्रति प्रेरणा जागृत गरेको छ । संसारका सुख र दुःख आफ्नै मन र कर्मले आर्जन गरेका हुन् भन्ने यस सिङ्गो कविताको सार निकाल्न सकिन्छ । व्यावहारिक जीवनमा देखेभोगेका दृष्टान्तहरु यसमा छन् ।

कविताको शीर्षक नै नेपालको वर्णन भन्ने छ । संस्कृतिबाट नै देशको समृद्धि सम्भव छ भन्ने भावना कविताभित्र पाइएको छ । देशप्रेमका दृष्टिले यस कविताका सबै श्लोक प्रभावशाली छन् । प्रायः श्लोकमा धेरै कुरा सूत्र जस्तो भएर यसरी आएको छ-

सानो देश भनिन्छ किन्तु यसको भाषा तथा संस्कृति
सैयौँ छन् तर छन् भई विविधता यो राष्ट्रका सम्पति
भाषा भेष थरी थरी सँगसँगै संस्कार आफ्नो पना
हो आश्चर्य छ किन्तु जातिगतमा हुन्छन् सबै हारमा

शीर्षक नै देश प्रेम भएका कविताको कुरो गर्नै परेन । यसमा राजनीतिले पारेको प्रभावलाई पनि सङ्केत गरिएको छ । बाहिरी मुलुकबाट ल्याइएका कुनै पनि राजनीतिले यस देशमा काम गर्न सक्तैन । बाहिर जन्मेका राजनीतिलाई पालैपालो अभ्यास गरिएको हुनाले देशको दुर्दशा झन् झन् चुलिँदै छ । आफ्ना पुर्खाले आर्जन गरेका प्राचीन निधिहरुको संरक्षण र संवद्र्धन नगरेसम्म हाम्रा देशको हित हुँदैन ।

त्यसपछि आउने प्रकृति शीर्षकको कवितामा प्रकृतिबाट सिक्न सकिने धेरै शिक्षाको चर्चा रहेको छ । राष्ट्रका अगुवालाई शीर्षकमा केही राम्रा सुझाव छन् । ती सुझाव सुनिदिने र मनन गर्ने फुर्सद निकाल्न सक्दा राम्रै हुने देखिन्छ ।

तेह्रौँ शीर्षक यस्तो किन भएन ? भन्ने प्रश्नवाचक रहेको छ । यसमा देशभित्र प्राकृतिक स्रोतसाधन प्रचुर हुँदा हुँदै पनि, पुर्खाले आर्जन गरेको शिक्षादीक्षाको स्रोत प्रशस्त हुँदा हुँदै पनि भोक, रोग, अशिक्षा, गरिबी, सङ्कट आदि रहेका छन् भन्ने कुराको उठान छ । यो वर्तमान समयको यथार्थ हो ।

अर्को शीर्षक लोकतन्त्रमा श्लोक धेरै छन् । धेरैवटा पाटाबाट विषयवस्तुको खोजी भएको छ । देशमा बारम्बार राजनीतिक परिवर्तन आइरहन्छ, अनेकौँ नामका तन्त्र, वाद, मत र विचारधाराको अभ्यास भइरहेको छ र जति जति राजनीतिक व्यवस्थाका अभ्यास हुँदै छन् उति उति देशको अवस्था बिग्रँदै छ भन्ने भाव यस कविताले व्यक्त गरेको छ । वास्तवमा अर्काका देशको राजनीति यस देशमा लाद्नु यस देशका लागि हितकारी हुँदैन, त्यो पक्कै हो । कविताको एउटा श्लोक-

गाई वस्तु दुधालु पाल्न तँ लगा दै दूध पर्याप्त होस्
पाखा भीर समग्र उर्वर हुने खेती हुने भूमि होस्
बाँझो भूमि कहीँ नहोस् कृषकले अग्र्यानि खेती गरुन्
नेपाली जन आत्मनिर्भर हुँदै ऐश्वर्यशाली बनून् ।

अर्को कविता नारी र पुरुष शीर्षकमा रहेको छ । समाजमा नारीपुरुषका बीच रहेको भेदभावयुक्त व्यवहारलाई मनन गरी लेखिएको यस कवितामा नारीपुरुष एक अर्काका विपरीत नभई पूरक हुन् भन्ने भावना देखिन्छ । दुई विपरीत लिङ्गीका बीचमा  उमेरका प्रभावले आकर्षण बढ्नु प्राकृतिक नियम हो । सामाजिक विधि र निषेधले बनाएको मर्यादा यदाकदा मानिसले तोड्छ । नियमभित्र रहेको होस् वा नियम उल्लङ्घन गरेको होस् तर पनि बाँच्ने रहर मानिसले गरेकै हुन्छ । त्यसका जीवन निर्वाह गर्न मानिस बाध्य छ भन्दै कवितामा यस्तो लेखिएको छ-

भिन्नै लिङ्ग छ सृष्टिकै समयमा उत्पन्न नारी नर
बुझ्नै पर्दछ भिन्नता प्रकृतिमा जम्मै कुरा आखिर
होलान् धर्म र कर्म केन्द्रित वृथा इच्छाहरुमा पनि
होलान् तद् अनुरुपका जटिलता सम्पन्न गर्ने भनी

कविता सङ्ग्रहको जनयुद्धका अगुवालाई भन्ने शीर्षकमा रहेको कविताले त्यस समयमा नेपाली जनताले भोगेको सास्तीलाई उठान गरेको छ । आखिर नेपालीले नेपालीको हत्या गरे । शासनको सुधार गर्नकै लागि हत्या गरेको थियो भने पनि देशभित्रका बासिन्दा नै मारिएपछि सुशासन कसका लागि ? जनयुद्धले जितेको हो कि हारेको हो त ? जितेको भए मुलुकको सुधार भयो त ? यस्तै प्रश्न उठाउने प्रयास गरेको छ-

आगोभित्र डढेर भाग्न नसकी ज्यूँदै जलेका कति
त्यस्तै बारुदको धुवाँधुर खपी गोली सहेका प्रति
आफ्नो ज्याद हिँडाउँदै र खुकुरीको धारमा उभ्भिँदा
थ्यो के राष्ट्रिय प्रेम ? या त्यस बढी थ्यो भित्री स्वार्थान्धता

आठवटा श्लोक भएको जीवन शीर्षकको कविता पढ्दै छैटौँ श्लोकमा पुग्दा सम्पूर्ण कविताको भाव त्यहीँ खुलेको देखिन्छ । धर्म र राजनीतिका आधारमा जीवन सुखी बनाउनेहरु नै कलहमा लाग्छन् भने अरुको कुरा नै के भयो र ? जुनसुकै समूहको भए पनि भोकतिर्खा उस्तै हो, मान अपमानको बोध उस्तै हो, न्याय पाउँदा सुखी र अन्यायमा पर्दा दुःखी हुने उस्तै हो । कुनै राजनीति वा धर्ममा हत्या, चोरी, लुट, अन्याय अत्याचार गर भन्ने सिद्धान्त छैन तर दुराचार नगर्ने सबै सदाचारी भएको धर्म वा राजनीति कहाँ होला भनेर प्रश्न उठ्यो भने त्यसको उत्तर तलका श्लोकमा आएको छ-

जल्ले कृत्य बुझेर गर्दछ भने त्यो हुन्छ लाभान्वित
तिर्खा लाग्दछ मिट्छ प्यास कसरी पानी कहाँ पाउँछ
हीरा फोर्न पछाडि कत्ति नपरे त्यस्को जरुरी परे
कौडी होस् तर छोड्नु हुन्न कहिल्यै व्यर्थै कहीँ क्यै गरे

अर्को शीर्षक मान्छे भन्ने छ । मान्छेले सुन्दरताको खोजी गर्छ । सुन्दर भन्ने शब्दको महत्त्व मान्छेकै लागि विशेष छ । रुपमा सुन्दरभन्दा व्यवहारमा सुन्दर हुनुपर्छ भन्ने भावना कविताले बोकेको छ । वास्तविक जीवनमा खोजी गर्दै हिँड्दा राम्रो व्यवहार गर्ने वाचा गरेर नराम्रो गर्नेहरुकै बहुलता रहेको हुनाले मान्छे स्वयं नमान्छे बनेको यस कवितामा देखिन्छ । यहाँसम्म सुरुका १८ वटा कविताको क्रमशः अवलोकन गरियो ।

सबै कविता एक से एक राम्रा छन् । प्रायः सबै छोटा छन् । एकै बैठानमा पुस्तक नै पढिसकिन्छ तापनि लेख्ता अलिकति समय लागिहाल्छ । हरेक कवितामाथि केही न केही लेखौँ भन्ने लोभ लाग्दो स्थिति छ तर ठाउँ, समय र श्रमको पनि आफ्नै सीमा छ । त्यसैले यसपछि केही कविताहरु बीचबीचबाट हेर्ने प्रयास गरेको छु ।

क्रमसङ्ख्या २७ मा रहेको तिम्रो जन्मभूमि शीर्षकको कविता पढेर हेर्दा सबै हरफ, सबै शब्द अत्यन्त अर्थपूर्ण र जन्मभूमिका लागि समर्पित देखिन्छन् । कुनको मात्रै अर्थ लेखेर सिध्याऊँ ? जुन हे¥यो उस्तै । त्यसैले समग्र कविताकै लागि भन्न मन लाग्यो- आफ्नो जन्मभूमि बिर्सनेले अरु जे जे सम्झिए पनि त्यसको कुनै अर्थ छैन, जन्मभूमि सम्झिएपछि अरु केही बिर्सिए पनि ठुलो अनर्थ हुँदैन ।

त्यसपछि पृष्ठ ५८ मा रहेको बाबा बिदेसिएपछि भन्ने शीर्षकलाई छोड्नै सकिएन । लोग्नेले दुःख गरेर कमाएका पैसा पराईलाई खुवाउँदै छोराछोरी र घरलाई श्रीमतीले बिजोक बनाएको मार्मिक कुरो छ । कैयौँ श्रीमानले त्यसरी घर बिगारेका हुन्छन् । त्यसो त सबै वैदेशिक रोजगारीमा जानेले घर बिगारेका छैनन् । कैयौँले निश्चित ड्युटी गरेर पनि बचेको समयमा अनेकौँ सिर्जनात्मक काम गरेका पनि छन् । यसरी वैदेशिक रोजगारीमा जोखिम प्रचुर छ भन्ने सङ्केत यसमा पाइन्छ । पाठकहरुले कवितामै पढ्दा प्रस्ट होला ।

आफ्नै मनको विचार पनि अरुका सामु जस्ताको तस्तै बुझाएर भन्न निकै कठिन हुन्छ । कवयित्रीले आफ्ना कतिपय कवितामा आफूभन्दा भिन्न व्यक्तिको मनोभाव प्रस्तुत गरेको देखिन्छ । त्यस्ता कविताहरुमा वादी महिला एक हो । यसमा अल्पसङ्ख्यक समुदायको पीडा र बाँच्नका लागि अनुचित कार्य गर्न बाध्य भएका समुदायको पीडालाई मार्मिक रुपमा प्रस्तुत भएको छ ।

त्यसै गरी नगरवधू शीर्षकको कविताले त्यस्ता मानिसको चरित्रलाई औँल्याएको छ, जो दिनको उज्यालामा सुकिलो अनुहार लिए पनि काला रातमा आफ्नै मुख कालो बनाउँदै हुन्छन् ।

विधवा र विधुर शीर्षकको कवितामा एउटै प्रकारको दुःखमा लैङ्गिक भिन्नताका कारण भिन्न भिन्न दृष्टि, व्यवहार र नियम समाजका रहेको कुरामा कविताका पङ्क्तिहरुले आश्यर्य मानेका छन् ।

देउकीको पीडा शीर्षकमा भएको कविताले समाजको परिवर्तनसँगै चल्दै आएका कुप्रथा र तिनबाट पीडित रहेका समूहलाई सहानुभूति प्रकट गरेको छ ।

विधुरको पीडा कवयित्री आफू महिला भईकन पनि पुरुष मनका व्यथालाई केलाउने कविता हो । समाजले सहानुभूति देखाउँछ भने एक पक्षलाई र समूहले सहानुभूति राख्छ भने आफ्नै समूहलाई मात्रै । पुरुष मनभित्रका व्यथाको अवलोकन नारी स्रष्टाले सफल रुपमा गरेको देखिन्छ । पुरुषभित्र पनि भावसंवेदना हुन्छन् भन्ने कुरालाई मार्मिक रुपमा उठान गरिएको छ ।

यसरी जम्मा १२६ पृष्ठको, डिमाई साइजको यस पुस्तकलाई मनमती साहित्य समाज कलङ्की, काठमाडौँले वि.सं. २०७३ मा प्रकाशन गरेको हो । लामा र छोटा गरी जम्मा ७६ वटा कविता छन् । ती कविताहरु प्रायःजसो शास्त्रीय छन्दमा नै रचिएका छन् ।

प्रतिक्रिया दिनुहोस्