श्रीमद्भागवत महापुराण नेपालीमा (सातौं अध्याय)



।। श्रीगणेशाय नमः ।।
श्रीकृष्णद्वैपायनव्यासमहामुनिप्रणीतम्
श्रीमद्भागवतमहापुराणम्

अथ सप्तमोऽध्यायः
बालघाती अश्वत्थामाको मानमर्दन

ब्रह्मनदी सरस्वतीका पश्चिम किनारमा शम्याप्रास भन्ने ठाउँमा यज्ञकर्ता ऋषिहरुको आश्रम छ । बयरघारी नजिक आफ्ना आश्रममा व्यास एक चित्त भई बसे । भक्तियोगमा मन लगाउँदा परम पुरुष र उनको मायालाई देखे । मायाले सम्मोहित जीव आफूलाई त्रिगुणात्मक मान्छ र अनर्थ गर्छ । योगेश्वरका भक्तिले अनर्थ निवारण गछै भनी नजान्नेका लागि विद्वान् व्यासले भागवत बनाए । यो सुन्ने मानिसको शोकमोह नाश भई परम पुरुष कृष्णमा भक्ति लाग्छ । व्यासमुनिले त्यो भागवत संहिता निवृत्तिमा लागेका आफ्ना पुत्र शुकदेवलाई पढाए र शुकदेवले पढे । शुकलाई हरिका गुणमा मति लाग्यो ।

महाभारत युद्धमा कौरव सेनाका धेरै वीरहरुले वीरगति पाए । भीमले धृतराष्ट्रपुत्र दुर्योधनका तिघ्रा भाँचे । द्रोणपुत्रले स्वामीको हित होला भन्ने ठानेर कृष्णाका निदाएका पुत्रहरुको शिर काटे । त्यो उनका लागि अप्रिय नै भयो, सबैले घृणित कर्मलाई निन्दा गरे । बालक छोराहरुको मृत्युले माता आहत भइन् । आँसुमा डुबेर रोइरहेकी द्रौपदीलाई अर्जुनले सम्झाउँदै भने- म यी आततायी ब्राह्मणको शिर गाण्डीवका तिखा बाणले काट्छु । त्यही शिरमा कुल्चिएर छोराहरुको दाहसंस्कार गर्दै तिमी नुहाऊ । म तिम्रो शोक मेटाइदिन्छु भन्ने सान्त्वना दिएपछि भयङ्कर धनुष लिएर कपिध्वजले रथ हाँकेर गुरुपुत्रलाई लखेटे । दिक्क मन भएका ती कुमारघाती ब्राह्मण ज्यान जोगाउन रथ लिएर भागे । घोडा थाकुन्जेल भाग्दा पनि आश्रय नपाएपछि अश्वत्थामाले आफ्नो बचाउ गर्न ब्रह्मास्त्र सम्झिए । ज्यानको सङ्कट परेकाले जल आचमन गरी फिर्ता गर्न नजानेको ब्रह्मास्त्र ताके । ब्रह्मास्त्रको प्रचण्ड तेज सबै दिशामा फैलियो । ज्यान सङ्कटमा परेपछि कृष्णसँग गुहार माग्दै अर्जुनले त्यो केको तेज हो भनी सोधे । द्रोणपुत्रको प्राण आपद्मा पर्दा ब्रह्मास्त्र हाने । यो तेज त्यसकै हो तर उनी ब्रह्मास्त्र नियन्त्रण गर्न जान्दैनन् । तिमी शस्त्रविज्ञ छौ, ब्रह्मास्त्रको यस तेजलाई निभाऊ भनी कृष्णले अर्जुनलाई स्मरण गराए ।

वीर अर्जुनले भगवान्को कुरो सुनेपछि सम्मानपूर्वक ब्रह्मास्त्रको प्रतिकार गर्न लागे । दुवैतिर निस्केको बाणका तेज आकाशमा सूर्यबाट आगो निस्के जसरी फैलियो । दुवैतिर तेज उर्लेर डढाउन लागेको त्यो तेज सांवर्तक अग्नि जस्तै थियो । लोकहरु जल्न लागेर प्रजाको हाहाकार देखेपछि वासुदेवका आदेशमा अर्जुनले दुवै तेज निभाए । रिसले आँखा राता पार्दै निष्ठूर गौतमीपुत्रलाई अर्जुनले पक्रेर बाँधे । अर्जुनले बाँधेर शिविरमा लैजान लागेका अश्वत्थामासँग भगवान् रिसाए र भने- यी अपराधीलाई नछोड, मारिदेऊ । सुतेका बालकहरु यिनले व्यर्थै मारेका छन् । धर्म जान्नेले बौलाहा, पागल, मातेको, सुतेको, मूर्ख, स्त्री, बालक शरणार्थी र रथहीन शत्रुलाई मार्दैन । अर्काका ज्यानले आफ्नो ज्यान पोस्ने निर्घृणी दुष्ट त्यही दोषले खस्छ । तिमीले पाञ्चालीलाई यी बालघातीको शिर ल्याउँछु भनी वचन दिएको मैले सुनेको छु । त्यसैले यी आफ्ना छोरा मार्ने पापी आततायीलाई मार । यी कुलाङ्घारले स्वामीको पनि अप्रिय गरे । यसरी धर्मको परीक्षा गर्न कृष्णले भने पनि महान् पार्थले छोरा मार्ने गुरुपुत्रलाई मार्न आँट गरेनन् ।

बालक छोराहरुका मृत्युले मर्माहत भएकी निर्णय गर्ने जिम्मा दिए । पशुझैँ डोरीमा बाँधिएका, आफ्नै कुकर्मले लज्जित भएका, अपकारी गुरुपुत्रलाई कृष्णाले राम्ररी हेरिन् र नमस्कार गरिन् । उनलाई बाँधेको सहन नसकेर ती सतीले भनिन्- ब्राह्मण गुरु हुन्, यिनलाई चाँडै खोलिदेऊ । तिमीले रहस्यसहित धनुर्वेद, विसर्गसहित उपसंयम र सबै अस्त्रविद्या जसका अनुग्रहमा सिक्यौ यिनी तिनै भगवान् द्रोणका छोरा हुन् । यी वीरकी जननी, गुरु द्रोणकी पत्नी कृपी पुत्रस्नेहले पतिसँग सती गइनन् । त्यसैले पूज्य गुरुको कुलमा कसैले दुःख दिनु हुँदैन । छोराका मृत्युले म रोएझैँ यिनकी माता गौतमीले रुनु नपरोस् । ब्रह्मकुललाई कुपित पार्ने असंयमी राजाको कुल परिवार चाँडै शोकग्रस्त र भस्म हुन्छ । अर्जुन लगायत सबैले द्रौपदीको कुरो सुने ।

रानीको धर्म, न्याय र कपटरहित महान् विचार सुनेर राजाले समर्थन गरे । नकुल, सहदेव, युयुधान, धनञ्जय, देवकीपुत्र भगवान्, त्यहाँ भएका स्त्रीहरु र रिसाएका भीमले भीमले मार्नु ठिक ठाने । किनभने सुतेका बालकहरु मार्दा न राजाको हित भयो न आफ्नो । द्रौपदीले भनेको सुनेपछि चतुर्भुजले अर्जुनका मुखमा हेरेर हाँसेझैँ भने- आततायी मार्न योग्य हुन्छ तर ब्राह्मणलाई मार्नुहुँदैन । यहाँ ब्राह्मण नै आततायी छन् । त्यसैले राम्रो अनुशासन पालन गर । तिमीले प्रियालाई दिएको वचन पनि पालन गर र भीम, पाञ्चाली र मेरो इच्छा पनि पूरा गर ।

अर्जुनले हरिका हृदयको कुरो तुरुन्तै बुझे । तरबार लिएर ब्राह्मणको कपालसहित मणि झिके । डोरीको बन्धन खोलिदिए । बालहत्याले कान्तिहीन थिए, मणिको तेज सकिएपछि अझ तेजहीन भई शिबिरबाट निष्काशित भए । खुइल्याउनु, धन खोस्नु र देशनिकाला गर्नु ब्राह्मणका लागि मृत्युदण्ड समान हुन् । ब्राह्मणको ज्यान लिनु हुँदैन । कृष्णासहित पुत्रशोकमा डुबेका पाण्डवहरुले आफ्ना पुत्रहरुको अन्तिम संस्कार गरे ।

इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां प्रथमस्कन्धे द्रौणिनिग्रहो नाम सप्तमोऽध्यायः ।।७।।

प्रतिक्रिया दिनुहोस्