स्वास्थ्य चौकीलाई चार रोपनी जग्गा दान



०९ जेठ २०७५, पाल्पा

रामपुर नगरपालिका –८ मा रहेको खालीवन स्वास्थ्य चौकीलाई दुई घरपरिवारले चार रोपनी जग्गा दान गरेका छन् । वडा नं ८ को कालीगण्डकी करिडोर नजिकै कुमराङमा रहेको रु ४० लाख बराबरको जग्गा स्वास्थ्य चौकीको नाममा पास भएको छ ।

कुमराङ बस्ने स्व झगरसिं रानाको स्मृतिमा श्रीमती टुकीसरा राना तथा रामजाली परिवारले रु २५ लाख मूल्य पर्ने दुई रोपनी छ आना जग्गादान गरी मालपोत कार्यालय, रामपुरमा रजिस्ट्रेशन पास समेत गरेर जग्गा दिएका थिए ।

त्यसैगरी, कुमराङ बस्ने स्व खड्गसिं ठाडामगरको छोरा खेमबहादुर ठाडा र बुहारी भुवानीसरा ठाडामगरले रु १५ लाख मूल्य बराबरको एक रोपनी १० आना जग्गादान गरी स्वास्थ्य चौकीको नाममा पास गरेको जानकारी खालीवन स्वास्थ्य चौकीका प्रमुख सुभाष अधिकारीले दिएका छन् ।

मानव जीवनका लागि स्वास्थ्य सेवामा महत्वपूर्ण सहयोग वास्तविक मानव सेवा हुने भन्दै दुवै परिवारले अमूल्य जग्गा दान गरी रजिस्ट्रेशन पास गरेर जग्गा दिएकोमा स्वास्थ्य चौकीको लागि ठुलो सहयोग हो । यसलाई हामीले सही सदुपयोग गर्ने छौं भन्दै दानदातालाई प्रमुख अधिकारीले धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्