किसान समुदायकी एक्ली स्टार्फ नर्स



काँकडभिट्टा, २४ चैत

लगनशील अनि मिहेनत सफलताको सूचक हो । सानै देखिको पढाइप्रति लगनशील सुनिता किसान यतिखेर स्टाफ नर्सको कोर्ष पूरा गर्ने तयारीमा छिन् ।

झापा मेचीनगर–९ खुट्टीडाँगीका सुनिता लोपोन्मुख किसान समुदायकी एक मात्र स्टार्फ नर्स पढिरहेकी विद्यार्थी हुन् ।

काठमाडौँको सिटिइभिटीअन्तर्गत अध्ययन गरिहेकी सुनितालाई स्टाफ नर्सको कोर्ष पूरा गर्न अब एक वर्ष बाँकी छ । तीनवर्षे स्टार्फ नर्स पूरा गरेर उनले गरीब, दुःखी र बिरामीको सेवा गर्ने सोच बनाएकी छिन् ।

झापामा मात्र बसोबास रहेको यो समुदायबाट उच्च शिक्षा अध्ययन गर्ने व्यक्ति नगण्य छन् । शिक्षाबाट पछाडि परेको यो समुदायमा कुनै बेला छोराछोरीलाई पढाउन हुँदैन भन्ने गलत संस्कार थियो । यस्तो संस्कारलाई तोड्दै पढाइमा सुनिता बिस्तारै अघि बढिरहेकी छिन् ।

उनले पछि परेको आफ्नो समुदायको शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा काम गर्ने सोच बनाएकी छिन् । उनी भन्छिन्, “पढेर मेरो समुदायको स्वास्थ्य सेवा गर्न मन छ ।” सुनिता त्यति सजिलै स्टाफ नर्स पढ्न सक्ने भएकी भने होइनन् । उनी गरीब परिवारकी छोरी हुन् । उनका बुबाआमा दैनिक ज्यालादारी गरेर जीवन चलाइरहेका छन् । परिवारले उनलाई पढाउन सक्ने अवस्थामा थिएन ।

उनका परिवारले सुनितालाई स्थानीय स्वबोध साधना केन्द्रमा जिम्मा लगायो । स्वबोधमा असहाय, अनाथ र अतिविपन्न परिवारका बालबालिकालाई निःशुल्क आवाससहित पढाइदिने व्यवस्था छ ।

उनले त्यहीँबाट २०६२ सालमा एसएलसी उत्तीर्ण गरिन् । त्यसपछि स्वबोधकै खर्चमा उनले विर्तामोडको कञ्चनजङ्घा हेल्थ इन्स्टिच्युटबाट दुईवर्षे नर्सिङ कक्षा पास गरिन् । त्यसपछि उनी कोर्ष पूरा गर्न काठमाडौँ गइन् ।

काठमाडौँमा उनी समाजसेवी बालकृष्ण थपलियाको संरक्षणमा अहिले पढिरहेकी छिन् । थपलिया स्वबोध साधना केन्द्रका अध्यक्ष पनि हुन् । उनकै पहल अनि सहयोगमा सुनिताले पढाइ अगाडि बढाउन सफल भएकी हुन् । “सुनिता सानैदेखि इमान्दार र मिहेनती थिइन्”, थपलिया भन्छन्, “पढाइ सकेर उनलाई फार्मेसी खोलिदिने सोच बनाएका छौँ ।”

प्रतिक्रिया दिनुहोस्