लायन्स क्लबले चार करोड ५० लाखमा विद्यालय भवन बनाउने



म्याग्दी, २४ फागुन

मानवीय सेवामा संलग्न विश्वमै ठूलो सामाजिक संस्थामा पर्ने लायन्स क्लब इन्टरनेशनलले म्याग्दीका दुई सामुदायिक विद्यालयलाई रु चार करोड ५० लाखमा भवन बनाइदिने भएको छ ।

जिल्लामा नेतृत्व, व्यक्तित्व विकास सँगै सामाजिक तथा परोपकारी कार्यमा सक्रिय रहेको लायन्सले बेनी नगरपालिका–९ तोरीपानीमा अवस्थित गलेश्वर मावि र मालिका गाउँपालिका–७ विमको किसानी माविमा आठ कोठे भवन निर्माणका लागि प्रतिविद्यालय रु दुई करोड २५ लाख विनियोजन गरेको लायन्स क्लबका प्रमुख सल्लाहकार चन्द्रकुमार केसीले जानकारी दिनुभयो ।

“जिल्लाका अन्य सामुदायिक विद्यालयमा समेत प्रयास भएको थियो । छनोट समितिले प्राविधिक शिक्षालयलाई प्राथमिकता दियो”, केसीले भन्नुभयो । किसानी माविमा आइ.एस.ई (एजी) कृषि र गलेश्वर माविमा इन्जिनियरिङ पढाइ हुने गरेको छ । देशभरका लायन्स क्लबबाट सामुदायिक विद्यालयको भौतिक संरचना, विद्यार्थीको संख्यालगायत स्थलगत रुपमा अनुगमन गरी सिफारिश गरिएका विद्यालयलाई नौ सदस्यीय टोलीले छनोट गरेको थियो । स्थलगत अनुगमनका क्रममा जिल्लाका आवश्यक संरचना भएका विद्यालयको जग्गाको अभाव तथा साँघुरो संरचनाले समेत थप विद्यालय छनोट हुन नसकेको लायन्स क्लबले जनाएको छ ।

छनोटमा परेको गलेश्वर माविमा माध्यमिक तहमा जिल्लामै एक मात्र इन्जिनियरिङ कक्षा र किसानी माविमा कृषि जेटिए कक्षा सञ्चालन भइरहेको छ । दुवै विद्यालयमा विद्यार्थीको आकर्षण धेरै भए पनि भौतिक संरचनाको आवश्यकता रहेको थियो । लायन एमजिएफ सन्तोष रावलका अनुसार जिल्लामा चारवटा सामुदायिक विद्यालयको भवनका लागि प्रयास भए पनि दुईवटा मात्रै छनोटमा परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्