सिन्दुरे जात्रा परम्परागत रुपमा सञ्चालन गराउन माग



नुवाकोट, २१ फागुन

नुवाकोटको प्रसिद्ध जात्रा सिन्दुरे जात्रालाई परम्परागत विधिअनुरुप सञ्चालन गराउन नुवाकोट सरोकार समाजले माग गरेको छ ।

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई भेटेर समाजले ज्ञापनपत्र बुझाएको समाजमा सचिव अनुजकुमार श्रेष्ठले जानकारी दिनुभयो । हरेक वर्ष चैत शुक्ल पूर्णिमामा नुवाकोटका भैरवी र देवीघाटको जालपा मन्दिरमा लाग्ने सिन्दुरे जात्रामा भैरवीको रथलाई देविघाटस्थित जालपा मन्दिरमा ल्याइने र दुई दिनपछि फेरि भैरवीको मन्दिरमा पुगेर सिन्दुरेजात्रा गर्ने परम्परा छ ।

यहाँको रथ बोक्नका लागि लच्याङका स्थानीयवासी सहभागी हुने प्रचलन छ । भैरवी गुठीको जग्गा जोतभोग गरेवापत लच्याङवासीले हरेक वर्ष सिन्दुरे जात्रामा रथ बोक्नुपर्छ  तर गत वर्ष लच्याङवासीले भैरवीको गुठीमा रहेको जग्गामा रैकर गर्नुपर्ने माग पूरा नगरेको भन्दै रथ बोक्न अस्वीकार गरेपछि भैरवीलगायत रथमा राखेर लैजानुपर्ने मूर्ति गाडीमा राखेर देवीघाट(जाल्पामाई) पु¥याइएको थियो ।

रथ बोकेर लैजाने क्रममा बाटामा विभिन्न स्थानमा विधिपूर्वक पूजार्चना गर्दै जाने परम्परा  छ ।  गाडीमा हालेर लैजाँदा गत वर्ष बाटामा गरिने पूजाका विधि स्थगन गरिएको थियो । यस्तो अवस्था यस वर्ष आउन नदिन लच्याङवासीको मागलाई प्रदेश सरकारले सम्बोधन गरी परम्परागत रुपमै रथ बोकेर जात्रा सञ्चालन गराउन माग गर्दै ज्ञापनपत्र दिइएको हो ।

समाजका अध्यक्ष रामलाल श्रेष्ठको नेतृत्वमा गएको टोलीले मुख्यमन्त्री पौडेललाई नुवाकोट ऐतिहासिक परम्परालाई निरन्तरताका लागि प्रदेश सरकारले भूमिका खेल्न पनि आग्रह गरेको छ । ज्ञापनपत्रमा भनिएको छ, “नुवाकोटको सिन्दुरे जात्रा तामाङ समुदायको सहभागिताविना सम्पन्न गर्न सकिँदैन । यो पर्व नुवाकोटमा बाहुल्य रहेको नेवार र तामाङ समुदायको सहकार्यको नमूना पर्व हो । तामाङ समुदायलाई सिन्दुरे जात्राको रथयात्रामा सहभागी नगराउने हो भने यो जात्राको कुनै ऐतिहासिक र सांस्कृतिक महत्व रहने  छैन ।”

भैरवीको रथ बोकेवापत लच्याङवासीले कमाउँदै आएको भैरवीको गुठीको जग्गालाई उनीहरुको मागअनुसार दर्ता प्रक्रियामा लैजान प्रदेश सरकारले पहल गरी सनातनदेखि भैरवीमाईको रथ बोक्दै आएका लच्याङका तामाङलाई खुशीसाथ जात्रामा सहभागी हुने वातावरण बनाउन समाजले आग्रह गरेको छ । यस वर्ष चैत १७ गते चैत शुक्लपूर्णिमामा सिन्दुरेजात्रा सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्