पाकिस्तानी राजदूतद्वारा पुरस्कार वितरण



काठमाडौँ, ९ फागुन

उच्च माध्यमिक विद्यालयदेखि विश्वविद्यालय तहसम्म अध्ययन गर्ने एक हजार ५०० नेपाली विद्यार्थीमाझ आयोजित ‘पाकिस्तानी राजदूत वक्तृत्वकला तथा निबन्ध लेखन प्रतियोगिता’का विजयी विद्यार्थीलाई आज यहाँ पदक तथा पुरस्कार प्रदान गरियो ।

त्यसअवसरमा नेपालका लागि पाकिस्तानका राजदूत डा मजहर जावेदले पाकिस्तानले नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिएको बताउँदै नेपाली युवालाई शिक्षा र स्वास्थ्यका क्षेत्रमा पाकिस्तानले निरन्तर सघाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल- पाकिस्तान मैत्री तथा सांस्कृतिक संगठनका अध्यक्ष हिमालय शम्शेर राणाले लेखन र अभिव्यक्तिजस्ता सिर्जनात्मक कामबाटै प्रतिस्पर्धात्मक विश्वमा युवा पुस्ताले आफूलाई काबिल तुल्याउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा वक्तृत्वकला  प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल विद्यार्थीलाई क्रमशः रु ४० हजार, रु ३५ हजार र रु ३० हजार नगदका साथ स्वर्ण, रजत र कास्य पदक प्रदान गरिएको थियो ।

त्यसैगरी, निबन्ध प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल विद्यार्थीलाई पनि क्रमशः रु ४० हजार, रु ३५ हजार र रु ३० हजार नगदका साथ स्वर्ण, रजत र कास्य पदक प्रदान गरिएको थियो । दुवै विधाका स्पर्धाका १०/१० जनालाई जनही रु पाँच हजार सान्त्वना पुरस्कार पनि प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्