जापानी नागरिकको सहयोगमा विज्ञान प्रयोगशाला निर्माण



खोटाङ,  ४ फागुन : जापानी नागरिकको सहयोगमा खोटाङको सरस्वती माविमा विज्ञान प्रयोगशाला निर्माण गरिएको छ ।

जापानी नागरिक रेभ इकान मिजुतानीको आर्थिक सहयोगमा रुपाकोट मझुवागढी नगरपालिका–१, दिक्तेलमा रहेको विद्यालयमा विज्ञान प्रयोगशाला निर्माण गरिएको हो । जेनेरल जापान बुद्धिस्टको सेक्रेटरी रहेका मिजुतानीले उपलब्ध गराएको २ लाख ११ हजार ७८० रुपैयाँले विज्ञान प्रयोगशालाको आवश्यक संरचना निर्माण गरिएको प्रधानाध्यापक ध्यानबहादुर राईले बताउनुभयो ।

लुम्बिनी विकास कोषका उपसचिव ज्ञानिन राईको समन्वयमा मिजुतानीले सरस्वती माविलाई प्रयोगशालाका लागि सहयोग उपलब्ध गराएका हुन् । मिजुतानीले २०७२ सालको भूकम्प पीडितको सहयोगार्थ रकम संकलन गरेको भए पनि रकम न्यून भएपछि विद्यालयलाई प्रदान गरेका हुन् ।

शिक्षण सिकाईलाई प्रभावकारी बनाउनका लागि साइन्स, केमेस्ट्री, जियोलोजी, बायोलोजी र कम्प्यूटरका लागिछुट्टाछुट्टै ल्याब बनाउने गरी पहल भइरहेको प्र.अ राईले बताउनुभयो । २००९ सालमा फागुनमा स्थापना भएको विद्यालयमा हाल कक्षा ११ र १२ सम्मको पठन–पाठन भइरहेको छ ।

रासस 

प्रतिक्रिया दिनुहोस्