राई समुदायको परम्परागत कुल बिजुवाको कथामा आधारित फिल्म ‘नाकछोङ’को ट्रेलर सार्वजनिक



काठमाडौं । पिताको निधनपछि उनको इच्छाअनुसार ‘आत्मा बाटो’ लगाउने र राई समुदायमा प्रचलित परम्परागत कुलका बिजुवा (नाकछोङ) को कथामा आधारित फिल्म ‘नाकछोङ’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा बिजुवा बन्ने क्रममा एक छोराले परिवार, समाज र समयसँग सामना गर्नुपर्ने गहिरो आन्तरिक तथा सामाजिक संघर्षलाई प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ ।

फिल्मको लेखन तथा निर्देशन किरण राईले गरेका हुन् भने निर्माणको जिम्मेवारी ज्योतीराज राईले सम्हालेका छन् । निर्माता राईका अनुसार यो फिल्मले राई समुदायमा परापूर्वकालदेखि पुस्तौँपुस्ता चलिआएको सांस्कृतिक चेतना, आत्मिक अनुशासन र कुल परम्परालाई सिनेम्याट्रिक भाषामार्फत पुनर्जीवित गर्ने प्रयास गरेको छ ।
उनले भने, “नाकछोङ कुनै काल्पनिक पात्र होइन, यो पुस्तौँदेखिका विश्वास, विधि, संस्कार र सामूहिक चेतनाको सजीव प्रतिनिधि हो । फिल्मले यसलाई गहिरो संवेदनशीलताका साथ प्रस्तुत गरेको छ । आफ्नै समुदायले समेत बिर्सँदै जान थालेका कारण यो इतिहास ओझेलमा पर्ने खतरा छ ।”

फिल्ममा भुवन सिंह राई, यासेली योङहाङ, सागर केरुङ, शुष्मा सुब्बा गुरुङ, पूर्ण लिम्बू, सारा राई, ताया हाङ राई, दिनेश कोइराला, उदय सुब्बा कुरुङ्वाङ, अनुशा राई, सरोज राई, जेशन राई, तुलशा लिम्बु लगायत कलाकारको अभिनय रहेको छ । छायाङ्कन बाबु श्रेष्ठले गरेका हुन् भने संगीत दिनेश काजी वान्तवा र अनिल कोई राईले दिएका छन् ।

सार्वजनिक प्रदर्शन मिति भने हालसम्म तय नभएको यस फिल्मको युकेका विभिन्न शहरहरूमा प्रिमियर सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्