
विराटनगर — ‘द भ्वाइस अफ किड्स’ सिजन–४ की फाइनलिष्ट गायिका दिलिजा रुवालीको स्वरमा रहेको नयाँ गीत ‘मेरा भगवान…’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। आमाको निस्वार्थ प्रेम, ममता र त्यागलाई केन्द्रमा राखेर तयार गरिएको यो गीतले आमालाई जीवनको पहिलो गुरुका रूपमा सम्मानपूर्वक प्रस्तुत गरेको छ।
गीतमा पद्मा लिंखा मगरका शब्द, सुरेश बानियाँको संगीत तथा एरेन्ज रहेको छ। जन्मदिने आमाको माया, त्याग र सहनशीलताले सन्तानको व्यक्तित्व निर्माण र सफलतामा कति ठूलो भूमिका खेल्छ भन्ने भावनालाई गीतमार्फत प्रभावकारी रूपमा उजागर गरिएको छ। आमाको निस्वार्थ प्रेम र संस्कार नै सन्तानको जीवनको आधार हो भन्ने सन्देश गीतमा कलात्मक ढंगले समेटिएको छ।
म्युजिक भिडियो सुनिल भण्डारीको छायांकन, नविन घर्ती मगरको सम्पादन तथा चित्रा मास्की मगरको निर्देशनमा तयार गरिएको हो। भिडियोमा दिलिजा रुवालीसहित दिपेन्द्र तिमिल्सिना, टिका सानु र सुरेश बानियाँको अभिनय देख्न सकिन्छ।
भावनात्मक शब्द, सुमधुर स्वर र जीवन्त दृश्य संयोजनले ‘मेरा भगवान…’ गीतले आमाप्रतिको श्रद्धा र सम्मानलाई दर्शक–श्रोतामाझ गहिरो रूपमा अनुभूत गराउने अपेक्षा गरिएको छ।





