
गण्डकी । नेपालकै एक मात्र सिकार आरक्ष बागलुङस्थित ढोरपाटनको विशाल पाटनमा दगुरिरहेका घोडा यहाँको प्रमुख पर्यटकीय आकर्षण बनेका छन् । ढोरपाटन पुग्ने अधिकांश पर्यटकले घोडा चढेर तस्बिर तथा भिडियो खिच्ने र ती सामग्री सामाजिक सञ्जालमा सार्वजनिक गर्ने गरेका छन् । सामाजिक सञ्जालमै व्यापक रूपमा फैलिएका यिनै दृश्यहरूले ढोरपाटनको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको छ ।
घोडा चढेका तस्बिर र घोडचढीका भिडियोका कारण पछिल्ला वर्षहरूमा देश–विदेशबाट ढोरपाटन आउने पर्यटकको संख्या बढ्दै गएको व्यवसायीहरू बताउँछन् । पर्यटक आगमनसँगै यहाँ घोडचढी व्यवसायसमेत राम्रोसँग फस्टाउँदै गएको छ ।
ढोरपाटन जाने मार्गस्थित फल्लेघरका बेगबहादुर कामी विगत तीन दशकदेखि घोडा शयर गराउँदै आएका व्यवसायी हुन् । उनका अनुसार पछिल्लो समयमा यहाँका घोडा पालकहरूले राम्रै आम्दानी गर्न थालेका छन् । ढोरपाटन क्षेत्रमा हाल सयभन्दा बढी घोडा रहेका छन् । “घोडामार्फत पर्यटकले मनोरञ्जन लिनुका साथै हामीले पनि आयआर्जन गर्न पाएका छौँ,” कामीले भने, “एउटा घोडा किन्न सामान्यतः रु दुई लाखसम्म लगानी गर्नुपर्छ ।”
यस वर्ष चिसो मौसम सुरु भइसके पनि फाट्टफुट्ट आएका पर्यटकका कारण पर्यटन व्यवसायमा केही राहत मिलेको व्यवसायीहरूको भनाइ छ । प्राचीनकालदेखि नै ढोरपाटनमा घोडा शयर हुँदै आएको र यसको आकर्षण अहिले पनि उत्तिकै रहेको कामीले बताए ।
ढोरपाटन आएका पर्यटक घोडामै चढेर आसपासका पाटन क्षेत्र, होमस्टे तथा होटेल घुम्ने र धार्मिक महत्व बोकेको उत्तरगङ्गा ढोरबराह पुग्ने गर्दछन् । घोडामा नचढी तस्बिर मात्रै खिचेको रु १०० सम्म लिने गरिएको छ भने भिडियो बनाउने वा घोडा शयर गरेबापत थप शुल्क लिने गरिन्छ । व्यवसायीहरूले १५ मिनेटको घोडचढीका लागि रु २०० लिने गरेका छन् । माथि दखर्कसम्म पुगेर फर्कँदा भने रु तीन हजार ५०० सम्म शुल्क लिने गरिएको कामीले जानकारी दिए ।
“मैले यस क्षेत्रमा सम्भावना देखेर करिब ३० वर्षदेखि घोडा र खच्चड पाल्दै आएको हुँ,” कामीले भने, “सडक यातायात सहज भएपछि पछिल्ला वर्षहरूमा खच्चड पाल्न भने छोडेको छु ।” उनका अनुसार घोडा जन्मिएको करिब चार वर्षपछि शयरका लागि दाउन थालिन्छ र राम्रोसँग तालिम दिएपछि मात्रै प्रयोगमा ल्याइन्छ । हरेक शुक्रबार र शनिबार पाटन क्षेत्रमा घोडचढी गर्ने पर्यटकको भीड लाग्ने गर्दछ ।
पर्यटकको आगमन बढेसँगै स्थानीय घोडा पालकको आम्दानी पनि उल्लेख्य रूपमा बढ्दै गएको छ । ढोरपाटन सामुदायिक होमस्टेका सञ्चालक रामबहादुर घर्ती मगरका अनुसार पछिल्ला वर्षहरूमा ढोरपाटनको पर्यटकीय आकर्षण बढेको छ । “पर्यटक बढ्दा होटेल, होमस्टे र घोडापालक सबैलाई फाइदा पुगेको छ,” उनले भने । उनका अनुसार पछिल्लो समय सुविधासम्पन्न होटेलसमेत निर्माण भइरहेका छन् र यहाँ आउने पर्यटकलाई खान–बस्न कुनै समस्या छैन ।
होमस्टेले पर्यटकका लागि विशेष प्याकेजसमेत तयार गरेको घर्ती मगरले जानकारी दिए । उनका अनुसार चिया–नास्ता, बेलुका मासुसहितको खाना, सुत्ने व्यवस्था र फर्कँदा सादा खानासहित कूल रु एक हजार २०० को प्याकेज उपलब्ध गराइएको छ ।
ढोरपाटनमा विशेषगरी फागुनदेखि असोज–तिहारसम्म पर्यटकको चहलपहल बढी हुने गर्दछ । जेठको तेस्रो सातादेखि भदौको पहिलो सातासम्म पाटन ढकमक्क फूलले ढाकिने समयमा घोडा दगुराउने, फोटो तथा भिडियो खिच्ने लहर चल्ने गर्छ । यसले घोडापालक व्यवसायीको आम्दानी झनै बढाउने गरेको घर्ती मगरले बताए ।
अर्का घोडा पालक राम विकका अनुसार घोडापालनबाट घरखर्च धान्नुका साथै राम्रो आम्दानीसमेत भइरहेको छ । “बुकी पाटनमा फूल फुल्ने समयमा त दैनिक नै राम्रो आम्दानी हुन्छ,” उनले भने । घोडाको राम्रो स्याहारसुसार र पोषक दाना आवश्यक पर्ने बताउँदै उनले पर्यटक याममा खर्च कटाएर दैनिक रु दुई हजारसम्म बचत हुने अनुभव सुनाए ।
“घोडापालन हाम्रा लागि भरपर्दो आम्दानीको स्रोत बनेको छ,” विकले भने, “ढोरपाटन आएका अधिकांश पर्यटकले घोडा शयर गर्न रुचाउने भएकाले यो व्यवसाय रोजगारीको महत्वपूर्ण विकल्पका रूपमा स्थापित हुँदै गएको छ ।”





