
काठमाडौँ, मंसिर २८
शुष्मा कोइराला मेमोरियल ट्रस्टअन्तर्गत सञ्चालित शुष्मा कोइराला मेमोरियल अस्पतालमा गम्भीर प्रशासनिक संकट देखिएको छ। ट्रस्टको ठाडो हस्तक्षेप, मनपरी निर्णय, कर्मचारीमाथि बढ्दो दबाब र असुरक्षाको वातावरणका कारण अस्पतालका कर्मचारीहरू पछिल्ला ३२ दिनदेखि शान्तिपूर्ण आन्दोलनमा उत्रिन बाध्य भएको अस्पताल कर्मचारी संघर्ष समितिले जनाएको छ।
संघर्ष समितिले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा ट्रस्ट व्यवस्थापनले पटक–पटक गरिएका ध्यानाकर्षण, वार्ता प्रयास, तथ्यगत प्रमाण र मागहरूलाई बेवास्ता गर्दै हुकुमी तथा तानाशाही शैलीमा गैरकानुनी गतिविधि सञ्चालन गरिरहेको आरोप लगाएको छ। सुरक्षा व्यवस्थादेखि वित्तीय अनुशासन, प्रशासनिक प्रक्रिया र कर्मचारी अधिकारसम्ममा गरिएको अतिक्रमण तथा कथित ‘गुण्डागर्दी’ का कारण अस्पतालको दीर्घकालीन अस्तित्व र सेवा प्रवाह नै संकटमा परेको विज्ञप्तिमा उल्लेख छ।
अल्टिमेटमपछि पनि वार्ता नगरेको आरोप
कर्मचारी संघर्ष समितिले पाँच दिने अल्टिमेटमसहित ट्रस्टलाई औपचारिक रूपमा मागपत्र बुझाएको भए पनि निर्धारित समयअवधिभित्र ट्रस्टले वार्ताका लागि कुनै तयारी नदेखाएको, ठोस कदम नचालेको र अव्यवस्था तथा अन्यायबारे कुनै जवाफ नदिएको आरोप लगाएको छ। उल्टै, कर्मचारीहरूविरुद्ध स्पष्टीकरण सोध्ने र कारबाहीको धम्की दिने काम जारी रहेको समितिको दाबी छ।
यसका कारण कर्मचारीहरूमा निराशा, असुरक्षा र आक्रोश बढेको जनाउँदै विज्ञप्तिमा अस्पतालको कार्य वातावरण भयपूर्ण बनेको उल्लेख गरिएको छ।
‘गुण्डा परिचालन’ र धम्कीको आरोप
संघर्ष समितिका अनुसार ट्रस्टद्वारा अनधिकृत रूपमा नियुक्त गरिएको Executive Director (ED) र Chief Executive Officer (CEO) ले बाहिरी व्यक्तिहरू प्रयोग गरी कर्मचारीलाई धम्की दिने, कुटपिट गर्ने र अस्पताल परिसरमा आतङ्क सिर्जना गर्ने कार्य गराएको प्रमाणित भइसकेको छ। यसले अस्पतालभित्रको वातावरण थप तनावग्रस्त, असुरक्षित र दबाबपूर्ण बनेको समितिको भनाइ छ, जसका कारण सामान्य ड्युटी गर्नसमेत कठिनाइ उत्पन्न भएको छ।
कर्मचारीका १९ बुँदे माग सार्वजनिक
संघर्ष समितिले औपचारिक रूपमा १९ बुँदे माग सार्वजनिक गरेको छ। प्रमुख मागहरूमा ट्रस्ट अध्यक्षको ठाडो आदेशबाट अनधिकृत रूपमा नियुक्त ED सृष्टि कोइराला र CEO दिपेन्द्र सिंह साउदको नियुक्ति खारेज गर्नुपर्ने, कर्मचारीमाथि हिंसा र धम्की दिनेहरूमाथि कानुनअनुसार कडा कारबाही गर्नुपर्ने, उनीहरूलाई ट्रस्ट वा अस्पतालको कुनै पनि पदमा नराख्नुपर्ने माग समावेश छन्।
त्यसैगरी स्वास्थ्य मन्त्रालयबाट प्राप्त अर्बौँ रुपैयाँ बराबरका अनुदानको विवरण सार्वजनिक गर्नुपर्ने, परीक्षाकाल पूरा गरेका कर्मचारीलाई स्वतः स्थायी गर्नुपर्ने, वार्षिक तलब वृद्धि सुनिश्चित गर्नुपर्ने, औषधि खर्च सुविधा पुनः लागू गर्नुपर्ने, नर्सिङ क्याम्पसका नाममा अस्पताल खाताबाट लिइएको ९८ लाख रुपैयाँ तत्काल फिर्ता गर्नुपर्ने माग पनि राखिएको छ।
IMC (Internal Management Committee) र HMC (Hospital Management Committee) को संरचनाअनुसार अस्पताल सञ्चालन गर्नुपर्ने, ती समितिमा कर्मचारी प्रतिनिधित्व अनिवार्य गर्नुपर्ने, नियमविपरीत भएका नियुक्ति र पदोन्नति खारेज गर्नुपर्ने तथा अनियमित भुक्तानी भए फिर्ता गर्नुपर्ने मागसमेत छन्।
पारदर्शिता र कानुनी शासनको माग
संघर्ष समितिले ट्रस्टको ‘हुकुमी प्रवृत्ति’ अन्त्य गरी आर्थिक पारदर्शिता सुनिश्चित गर्न अस्पतालको बैंक खाता IMC–HMC को निर्णयअनुसार कर्मचारीकै संलग्नतामा सञ्चालन गर्नुपर्ने माग गरेको छ। सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुअघि पाउनुपर्ने उपदान रकम तत्काल भुक्तानी गर्नुपर्ने, ट्रस्टबाट आएका धम्कीबारे स्वतन्त्र छानबिन गरी कानुनी कारबाही गर्नुपर्ने र अन्तर्राष्ट्रिय संस्था Interplast Germany Foundation विरुद्ध लगाइएका झुटा आरोप फिर्ता लिई सार्वजनिक माफी माग्नुपर्ने माग पनि गरिएको छ।
आन्दोलन राजनीतिक नभएको दाबी
संघर्ष समितिले यो आन्दोलन कुनै राजनीतिक उद्देश्यबाट प्रेरित नभई अस्पतालको अस्तित्व, सेवा गुणस्तर, कर्मचारी सुरक्षा, नियमको रक्षा, नैतिकता र पारदर्शिता जोगाउन सुरु गरिएको स्पष्ट पारेको छ। आन्दोलनका क्रममा पनि सेवा प्रवाह नरोकिने र बिरामीलाई कुनै असुविधा नहोस् भन्ने पहिलो प्राथमिकता रहेको समितिको भनाइ छ।
तर ट्रस्टले माग सम्बोधन गर्न पहल नगरेमा आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनी दिँदै त्यसको सम्पूर्ण जिम्मेवारी शुष्मा कोइराला मेमोरियल ट्रस्टले नै लिनुपर्ने संघर्ष समितिले जनाएको छ।
सम्पर्क:
शुष्मा कोइराला मेमोरियल अस्पताल कर्मचारी संघर्ष समिति
शंकरापुर–६, साँखु, काठमाडौँ
फोन: ०१–४४५०८२६





