
नुवाकोट — विदूर नगरपालिकामा ‘स्वास्थ्यका लागि खेलकुद’ विषयक तालिम कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल ओलम्पिक कमिटीले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको सहयोग तथा पाथ संस्थासँगको समन्वयमा तालिमको आयोजना गरेको हो।

यो श्रृंखलाअन्तर्गत बिहीबार विदूर नगरपालिका र शुक्रबार लिखु गाउँपालिकामा कार्यशाला सम्पन्न भए । कार्यक्रममा शिक्षक तथा विद्यालयका नर्सहरूको क्षमता अभिवृद्धि गर्दै खेलकुदमार्फत गैर–सङ्क्रामक रोगको रोकथाम र स्वास्थ्यप्रति सचेतना बढाउनेमै मुख्य लक्ष्य राखिएको थियो।


कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष चतुरानन्दराज बैद्य र सचिवद्वय रामकृष्ण श्रेष्ठ तथा रमेश शिवाकोटी स्रोत व्यक्तिका रूपमा सहभागी थिए। उनीहरूले समुदायमा खेलकुदको अभ्यासलाई प्रवर्धन गर्नु स्वास्थ्य कार्यक्रम प्रभावकारी बनाउन सहायक हुनेमा जोड दिए।
कमिटीले ‘स्वास्थ्यका लागि खेलकुद’ कार्यक्रम अन्य जिल्लामा समेत विस्तार गर्ने तयारी गरेको छ। सो क्रममा स्थानीय तहका स्वास्थ्यकर्मी र विद्यालयमा कार्यरत स्वास्थ्यकर्मीलाई लक्षित गरी खेलकुदमार्फत स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने तालिम निरन्तर दिने योजना रहेको कमिटीले जनाएको छ।





