
काठमाडौँ । थाइल्यान्डको चर्चित पर्यटकीय तथा साहसिक खेलकुद गन्तव्य च्याङ्गमाईमा हालै सम्पन्न विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय ट्रेल रन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका नेपाली धावकद्वय सनमाया बुढा र रनमाया बुढालाई नेपाली राजदूतावास, बैङ्ककले सम्मान गरेको छ।
उक्त प्रतियोगिता विश्वकै सबैभन्दा प्रतिष्ठित तथा चुनौतीपूर्ण अल्ट्रा ट्रेल रनमध्ये एक मानिन्छ। थाइल्यान्डको उत्तरी पहाडी भूभाग, जङ्गलयुक्त उकालो–ओरालो र कठिन भौगोलिक संरचनालाई समेटेर आयोजना गरिएको प्रतियोगितामा विभिन्न देशका व्यावसायिक तथा अनुभवी धावकहरूको सहभागिता रहेको थियो।
प्रतिष्ठित १०० किलोमिटर ट्रेल रनमा जुम्लाकी धावक सनमाया बुढाले चौथो स्थान हासिल गर्दै उल्लेखनीय सफलता हात पारिन्। त्यस्तै, ५० किलोमिटर दूरीको ट्रेल रनमा उनकी बहिनी रनमाया बुढाले सातौँ स्थान हासिल गर्दै नेपाली धावकको क्षमता र सम्भावनालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावशाली रूपमा प्रस्तुत गरिन्।
यस उपलब्धिको कदरस्वरूप शनिबार नेपाली राजदूतावास, बैङ्ककमा आयोजित सम्मान कार्यक्रममा धावक सनमायाले जुम्लाको दुर्गम भूगोल, अभावपूर्ण जीवन, निरन्तर सङ्घर्ष, कठोर अभ्यास र आत्मविश्वासको यात्राबारे आफ्ना प्रेरणादायी अनुभव सुनाइन्। उनको सङ्घर्षशील कथाले कार्यक्रममा उपस्थित सबैलाई भावुक र प्रेरित बनाएको थियो।
कार्यक्रममा राजदूतावासका उपनियोग प्रमुख मोतीबहादुर श्रीसले धावकद्वयलाई खादा लगाई मायाको चिनो प्रदान गर्दै सम्मान गरे। उनले नेपाली खेलाडीको अन्तर्राष्ट्रिय सफलताले नेपाललाई विश्वमा चिनाउन महत्त्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्दै यस्ता प्रतिभालाई भविष्यमा पनि निरन्तर प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरे। सो अवसरमा उनले दूतावासको पहलमा आयोजना हुन लागेको ‘लुम्बिनी नेपाल मिनी म्याराथुन’बारे पनि जानकारी गराए।
सम्मान कार्यक्रममा नेपाली राजदूतावासका कर्मचारी, गैरआवासीय नेपाली सङ्घ, थाइ–नेपाली सङ्घ, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि तथा शिक्षा, पेसा र व्यवसायमा संलग्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी संस्थाका अध्यक्ष कुमार कार्कीले धावकद्वयलाई प्रोत्साहनस्वरूप एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरे। साथै, अन्य नेपाली तथा गैरआवासीय नेपाली सङ्घका पदाधिकारीहरूले पनि आ–आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।





