
पाटन । स्वरसम्राट नारायण गोपालका कालजयी गीतहरू प्रविधिमा हुर्किएको ‘अल्फा’ पुस्तामा समेत उत्तिकै लोकप्रिय रहेको देखिएको छ । ललितपुरको खुमलटारस्थित प्रिमियर स्कुलमा शनिबार आयोजित साङ्गीतिक कार्यक्रममा चार वर्षीय बालक अरहत सिंहले नारायण गोपालको गीत गुनगुनाउँदा उपस्थित दर्शकले ताली बजाएर साथ दिएका थिए ।
३५ वर्षअघि विसं २०४७ मङ्सिर १९ गते देहत्याग गर्नुअघि नारायण गोपालले गाएका गीत आज पनि नयाँ पुस्तादेखि पाका श्रोतासम्म उत्तिकै रुचाइएका छन् । हुर्कँदै गरेका पुस्तामा पनि उनको स्वर, शब्द र भावनाले गहिरो प्रभाव पारिरहेको सहभागीहरूले बताए ।
स्वरसम्राट नारायण गोपालको ३५औँ स्मृति दिवसको अवसरमा निर्भाना म्युजिकल्सद्वारा आयोजित उक्त कार्यक्रममा गायक–गायिकाले उनका कर्णप्रिय तथा कालजयी गीत प्रस्तुत गरेका थिए । हल खचाखच भरिएको थियो भने दर्शकहरू गीतसँगै भावविभोर बनेका थिए ।
कार्यक्रममा नारायण गोपालले गाएका प्रेम, जीवन र राष्ट्रिय भावनाले ओतप्रोत गीतहरू प्रस्तुत गरिए । विसं २०१७ मा पहिलो गीत रेकर्ड गरी साङ्गीतिक यात्रा सुरु गरेका नारायण गोपालले नेपाली आधुनिक सङ्गीतमा नयाँ आयाम थपेको वक्ताहरूले स्मरण गरे ।
गीतकार एवं कवि नगेन्द्र थापाले नारायण गोपाल प्रेम तथा देशभक्तिका गीत गाउन रुचाउने गायक भएको उल्लेख गर्दै उनका शब्द र सङ्गीत आज पनि उत्तिकै लोकप्रिय रहेको बताए । गीतकार शैलेश सिंहले विसं २०२६ सालमा नगेन्द्र थापाले पहिलो पटक ‘स्वरसम्राट’ भनेर सम्बोधन गरेको स्मरण गर्दै त्यो उपाधि आजसम्म सार्थक रहेको बताए ।
“नारायण गोपालले परम्परागत नेपाली सङ्गीतमा आधुनिकता भरे । उनले गाएका अधिकांश गीत उत्कृष्ट छन्,” सिंहले भने, “उहाँ पाका पुस्तामा मात्र होइन, अहिलेको अल्फा पुस्तामा पनि लोकप्रिय हुनुको कारण यही हो ।”
साङ्गीतिक जीवनमा नारायण गोपालले १०० भन्दा बढी गीतमा स्वर भरेका थिए । तीमध्ये प्रायः सबै गीत कालजयी मानिन्छन् । पूर्व–पश्चिम राजमार्ग निर्माणको सन्दर्भमा गाइएको ‘जाग लम्क चम्क हो नौ जवान हो…’ बोलको गीत आज पनि सान्दर्भिक रहेको सहभागीहरूले बताए ।
गायक र सङ्गीतकारका अतिरिक्त उनी इतिहासका जानकार, फुटबल पारखी, चेस खेलाडी, कुशल भान्से तथा फोटोग्राफरसमेत रहेको जानकारहरू बताउँछन् । मानविकी शास्त्रमा स्नातकोत्तर गरेका नारायण गोपालले ‘एउटा मान्छेको मायाले कति’, ‘आँखा छोपी नरोऊ भनी’, ‘पर्खी बसेँ आउला भनी’, ‘यति धेरै माया दिई’, ‘यो सम्झिने मन त’, ‘अल्झेछ क्यारे पछ्यौरी तिम्रो’, ‘म त लालीगुराँस भएछु’, ‘ल सुन मेरो रामकहानी’, ‘यति चाखो यति मीठो’, ‘तिमीलाई म के भनूँ’ लगायत दर्जनौँ अजर–अमर गीतमा स्वर भरेका छन् ।
कार्यक्रममा ‘ए कान्छा ठट्टैमा यो बैँस जान लाग्यो’, ‘मेरो बेहोसी आज मेरो लागि पर्दा भो’, ‘हिमाल सरि म बगिरहेछु समात–समात मलाई’, ‘तिमीलाई भुल्दा’, ‘मैले पुन्य मन पराएँ’, ‘मलाई छोडी’, ‘मलाई मेरो छाया’, ‘अहिलेसम्म बाँचेका मेरा’, ‘स्वर्गकी रानी’ लगायतका गीतहरू प्रस्तुत गरिएका थिए । प्रस्तुत गीतहरूले दर्शकलाई मन्त्रमुग्ध बनाएको आयोजकले जनाएको छ ।





