
पर्वत । पर्यटन तथा उद्योग कार्यालयले पर्यटन पूर्वाधार विकासका आयोजना समयमै सम्पन्न गर्न नयाँ कार्यविधि अपनाएको छ — अब निर्माण कम्पनीका प्रतिनिधि, प्राविधिक तथा सम्बन्धित कर्मचारीको उपस्थितिमा सम्झौता निर्माणस्थलमै गरिने भएको छ। कार्यालयका प्रमुख पोषनाथ शर्माका अनुसार यस विधिले काम सुरु गर्न लाग्ने समय कम हुने भएकाले प्रगति प्रभावकारी हुने अपेक्षा गरिएको छ।
चालु आर्थिक वर्षमा पर्वत जिल्लामा कुल १११ वटा आयोजना सञ्चालनका लागि बजेट विनियोजन भएको छ। तीमध्ये जिल्लाको दक्षिणी भेगका विहादी, पैँयू र महाशिला गाउँपालिकामा मात्र ५० वटा साना तथा मझाैला पूर्वाधार आयोजनाको सम्झौता स्थलमै पुगेर गरिएको छ।
पैँयू गाउँपालिका–२ का अध्यक्ष नरभूपाल काफ्लेले कार्यस्थलमै सम्झौता गर्ने व्यवस्था अत्यन्त उपयोगी रहेको बताए। उनका अनुसार यसले निर्माण प्रक्रियालाई गति मात्रै दिएको छैन, परियोजना समयमै सम्पन्न हुने विश्वसनीयता पनि बढाएको छ। काफ्लेले हालै आफ्ना वडामा मन्दिर निर्माणका सम्झौता स्थलमै भएको जानकारी दिँदै अहिलेसम्म ११ वटा आयोजना सम्पन्न भइसकेको उल्लेख गरे।





