
मुस्ताङ । हिमाली जिल्ला मुस्ताङका उच्च लेक क्षेत्रमा दुर्लभ हिउँ चितुवाको वास्तविक संख्या यकिन गर्न विस्तृत अध्ययन–अनुसन्धान सुरु गरिएको छ। बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमको संयुक्त समन्वयमा ‘क्यामेरा ट्यापिङ’ प्रविधिमार्फत यो अध्ययन थालिएको हो।
बायोकोस नेपालका फिल्ड बायोलोजिस्ट बुद्धिबहादुर गुरुङका अनुसार हिउँ चितुवाको संख्या, तिनको आहारा प्रजातिको अवस्था, मानव–हिउँ चितुवा द्वन्द्व तथा जलवायु परिवर्तनको प्रभावबारे तथ्याङ्क संकलन गर्ने उद्देश्यले क्यामेरा जडान गरिएको हो।
गत हप्तादेखि वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गतका झोङ, पुडाक, छेङ्गुर, थोरङ्फेदीलगायत उच्च लेक क्षेत्रमा १५ वटा क्यामेरा जडान भइसकेका छन्। आजदेखि घरपझोङ गाउँपालिकाका स्याङ, मार्फा र चिमाङ गाउँ आसपासका उच्च लेकमा थप क्यामेरा जडान गरिने कार्यक्रम रहेको छ।
बायोकोस र एक्यापका प्राविधिक टोलीले हिउँ चितुवाको सम्भावित बासस्थान क्षेत्रलाई केन्द्रमा राखी क्यामेरा जडान गरेका हुन्। ती क्यामेराहरू हिउँद यामभरि करिब दुई महिनासम्म मैदानमा रहनेछन्।
बायोलोजिस्ट गुरुङका अनुसार दुई महिनापछि सबै क्यामेरा संकलन गरी तिनबाट प्राप्त डाटाको विश्लेषण गरिनेछ र सम्पूर्ण विवरण एक्यापलाई हस्तान्तरण गरिनेछ। बायोकोस नेपालले अन्नपूर्ण संरक्षण क्षेत्रमा नाउर (ब्लु सिप) अध्ययनसँगै हिउँ चितुवाको अध्ययन पनि गर्दै आएको भए पनि मुस्ताङमा यस्तो कार्यक्रम पहिलो पटक सञ्चालन भएको उनले बताए।
पछिल्लो समय मुस्ताङमा हिउँ चितुवा र मानवबीचको द्वन्द्व बढ्दो क्रममा रहेको छ। जलवायु परिवर्तनका कारण उच्च लेकमा चरन क्षेत्रको घाँस घट्दै जानु र पानीका स्रोतहरु सुक्दै जाँदा नाउरलगायत आहारा जनावर खोलातर्फ र बस्तीतिर झर्न थालेका छन्। आहारा पछ्याउँदै हिउँ चितुवा पनि बस्ती नजिक पुग्दा पशुपालकका गोठमा क्षति पुर्याउने घटनाहरू दोहोरिन थालेका छन्। यसले हिउँ चितुवाको संरक्षणसँगै मानव–वन्यजन्तु सहअस्तित्व कायम गर्न थप चुनौती सिर्जना गरेको छ।





