
डिसेम्बर २० बाट अडिसन, नेक्स्ट मोडल्सद्वारा छनोट प्रक्रिया
काठमाडौँ । नर्सहरूको नेतृत्व क्षमता विकास गर्दै उनीहरूको व्यक्तित्व निखार्ने उद्देश्यसहित ‘मिस नेपाल पिस’ को नयाँ संस्करण सुरु गरिएको छ । आयोजक संस्था नेक्स्ट मोडल्स नेपालले बिहीबार विज्ञप्ति जारी गर्दै प्रतियोगिताको अडिसन प्रक्रिया डिसेम्बर २० गतेदेखि सुरु हुने जानकारी दिएको छ ।

केही समयदेखि खुला गरिएको आवेदनका आधारमा प्रतियोगिताको छनोट चरण प्रारम्भ हुन लागेको हो । एनक्लेकेस् नेपाल मुख्य प्रयोजक रहेको यस प्रतियोगितामा १७ देखि २८ वर्ष उमेर समूहका नर्स तथा नर्सिङ अध्ययनरत युवतीहरूले सहभागिता जनाउन सक्नेछन् । आवेदन फारम ‘खल्ती’ एपमार्फत उपलब्ध रहेको आयोजकले जनाएको छ । अडिसनको समय र स्थान भने केही दिनभित्रै सार्वजनिक गरिनेछ ।
प्रतियोगिताकी शीर्ष विजेताले नगद एक लाख रुपैयाँसहित थाइल्यान्डमा सन् २०२६ मा आयोजना हुने ‘मिस ग्लोबल’, चीनमा हुने ‘मिस वल्र्ड पिस’ र भियतनाममा आयोजना हुने ‘मिस प्लानेट इन्टरनेसनल’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन् । साथै, करिब पाँच लाख रुपैयाँ बराबरका विभिन्न उपहारसमेत जित्ने व्यवस्था रहेको छ ।

‘सशक्त महिला, सबल राष्ट्र’ भन्ने नाराका साथ आयोजना हुँदै आएको यो प्रतियोगिता नर्सहरू सहभागी हुने स्वास्थ्य पेसासँग सम्बन्धित एकमात्र सामाजिक सौन्दर्य प्रतियोगिता हो । देशभरका नर्स तथा नर्सिङ कलेजमा अध्ययनरत युवतीहरूले यसमा सहभागिता जनाउन सक्नेछन् । अडिसन चरणबाट छानिएका प्रतियोगीलाई विभिन्न प्रशिक्षण दिएर अन्तिम प्रतिस्पर्धाका लागि तयार पारिनेछ ।
आयोजक संस्था नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाका अनुसार प्रारम्भिक चरणमै देशभरका चार दर्जनभन्दा बढी नर्सिङ कलेज तथा एक सयभन्दा बढी अस्पतालमा कार्यरत नर्सहरूको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको छ ।

अन्तर्राष्ट्रिय स्तरमै शान्तिको सन्देश फैलाउँदै नर्सिङ पेसामा आबद्ध तथा अध्ययनरत युवतीहरूलाई पेसा र समाजप्रति थप जिम्मेवार बनाउने उद्देश्यले यो प्रतियोगिता आयोजना हुँदै आएको आयोजकको भनाइ छ ।
त्यसैगरी, आयोजक संस्थाकी प्रबन्ध निर्देशक यतना पाण्डेले अन्तिम चरणका प्रतियोगीलाई सञ्चार कला, व्यक्तित्व विकास, मोटिभेसन, लिडरसिप, ड्रेस सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिलिङलगायत विषयमा तालिम दिइने जानकारी दिइन् । प्रतियोगितामा विभिन्न आधा दर्जन उपविधामा समेत विजेता छनोट गरिनेछ ।





