
काठमाडौं । ‘केह दो’ र ‘होना था जो’ लगायतका करिब आधा दर्जन बलिउड गीतमा स्वर दिएका गायक उज्वल बाबुको नेपाली गीत ‘फ्यान चल्यो घामको धुपैमा’ सार्वजनिक भएको छ। उक्त गीतमा उज्वलसँगै ‘मेरो भ्वाइस युनिभर्स सिजन–२’की प्रतियोगी गायिका जुनु प्रसाईको पनि स्वर रहेको छ।
रोमान्टिक शैलीमा तयार गरिएको यस गीतमा प्रेमी–प्रेमिकाबीचको साँचो माया, विश्वास र जीवनभर साथ दिनुपर्ने भाव व्यक्त गरिएको छ। अहिले माया देखाएर पछि धोका दिन नहुने सन्देश गीतमार्फत प्रस्तुत गरिएको छ। गीतका शब्द, संगीत तथा एरेन्ज बाबुल गिरीको रहेको छ।

गीतको भिडियो पनि आकर्षक बनेको छ, जसमा उदयराज गिरी र बिना राउतको रोमान्टिक अभिनय देख्न सकिन्छ। उनीहरूलाई प्रेमिल जोडीका रूपमा प्रस्तुत गरिएको भिडियोमा मोडल गिरी एनआरएन पोल्याण्डका २०२५–२०२७ कार्यकालका महासचिव समेत हुन्।

भिडियोको निर्देशन तथा कोरियोग्राफी सुरेन्द्र बसेलले गरेका हुन् भने छायांकन दिनेश पराजुली र सम्पादन राकेश दाहालले गरेका छन्। भिडियो निर्माण अनुराधा गिरी र मदन प्रसाईले गरेका हुन्।

गायक उज्वल बाबु नेपाली हुन्। उनी विगत ७ वर्षदेखि भारतमा बसेर संगीत क्षेत्रमा सक्रिय छन्। भारतमै उनले २ वर्ष क्लासिकल र प्लेब्याक गायनको कोर्स गरेका थिए भने म्युजिक प्रोडक्सन तथा साउन्ड इन्जिनियरिङमा डिप्लोमा समेत गरेका छन्। उनी भारतमै नेपाली डबिङमा पनि सक्रिय छन् र बलिउडका विभिन्न शोहरूसँग आबद्ध छन्।





