
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा लेखक नैनसिंह महरको शब्द रचनामा तयार भएको देशभक्तिपूर्ण गीत ‘बन्छ बन्छ मेरो देश बन्छ’ सार्वजनिक गरिएको छ। गायक प्रमोद खरेलको स्वर, संगीतकार हरि लम्सालको संगीत र दशरथ सुनारको निर्देशनमा तयार भएको यस गीतको भिडियोमा चर्चित कलाकार तथा विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको छ।

गीतको भिडियोमा अभिनेता राजेश हमाल, अभियन्ता महावीर पुन, राष्ट्रिय गानका रचयिता प्रदीप कुमार राई (ब्याकुल माइला), समाजसेवी अनुराधा कोइराला, ओलम्पियन खेलाडी दीपक बिष्ट, स्वयं गीतकार नैनसिंह महर, मिस पवी, अस्तिना महर, अनिमेश महर, सविना तामाङ लगायतको अभिनय देख्न सकिन्छ। भिडियोमार्फत देश कसरी बन्छ भन्ने सपना, आशा र सकारात्मक सोचलाई चित्रण गरिएको छ।

ललितपुरमा आयोजित कार्यक्रममा राष्ट्रिय गानका रचयिता प्रदीप कुमार राई (ब्याकुल माइला)ले गीतको औपचारिक सार्वजनिक गरेका थिए। सो अवसरमा गीतकार महरले वर्तमान राजनीतिक परिवेशमा जनतामा व्याप्त निराशालाई आशामा बदल्ने उद्देश्यका साथ गीत सिर्जना गरिएको बताए। उनले भने, “कांग्रेस–एमालेको सरकार बनेको समयमा जनतामा आशाको सञ्चार होस् भन्ने सोचसहित यो गीत लेखिएको हो।”
आधा दर्जनभन्दा बढी राजनीतिक तथा शैक्षिक पुस्तक लेखिसकेका महरका लागि यो पहिलो गीत रचना हो। उनले समाजमा बढ्दो निराशाबीच गीतमार्फत सपना बाँड्ने र आशा जगाउने प्रयास गरेको बताए।
गायक प्रमोद खरेलले राजनीति र साहित्य फरक विधा भए पनि नैनसिंह महरले रोजेको सिर्जनाको बाटो सकारात्मक रहेको टिप्पणी गरे। सार्वजनिक गीतले समाजमा आशाको सन्देश प्रवाह गर्ने विश्वास पनि उनले व्यक्त गरे।
वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले कला, साहित्य र संस्कृति नै देशको पहिचान भएको उल्लेख गर्दै त्यसबिनाको देश टिक्न नसक्ने धारणा राखे। उनले भने, “यो गीत मन र मष्तिष्क दुवैबाट जन्मिएको सिर्जना हो। देश राजनीतिले चलाउँछ तर राजनीतिलाई पनि साहित्य र संस्कृतिले चलाउँछ।” गीत र कविताले व्यवस्था परिवर्तनमा समेत महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो।
गीतकार डा. भोला रिजालले राजनीतिमा प्रभाव जमाउँदै आएका नैनसिंह महरलाई यस देशभक्तिपूर्ण गीतले लेखन क्षेत्रमा थप परिचय दिलाउने बताए। “नैनको गीत हेर्दा आफ्ना पुराना गीतहरूको सम्झना आयो। ‘देश बन्छ’ भन्नेमा म पनि विश्वस्त छु,” उनले भने।
कार्यक्रममा बोल्दै राष्ट्रिय गानका रचयिता प्रदीप कुमार राई (ब्याकुल माइला)ले लेखक तथा स्रष्टाहरूले समाज र राष्ट्रलाई सकारात्मक दिशातर्फ डोऱ्याउने भावका सिर्जना निरन्तर सार्वजनिक गर्नुपर्ने आवश्यकता औँल्याए।





