शालग्राम सङ्ग्रहालय धार्मिक पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै



बागलुङ । बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालग्राम सङ्ग्रहालय पछिल्लो समय आन्तरिक र बाह्य धार्मिक पर्यटकको प्रमुख आकर्षणका रूपमा विकसित भइरहेको छ। मानव–निर्मित १०० मिटर लामो सुरुङभित्र सवा एक लाखभन्दा धेरै शालग्राम शिला एकै ठाउँ अवलोकन गर्न मिल्ने भएपछि पर्यटक आगमन तीव्र रूपमा बढेको हो।

विशेषतः मुस्ताङ भ्रमणमा जाने पर्यटकहरू मार्गमै पर्ने यो सङ्ग्रहालयमा आउने गरेका छन्। औसतमा दैनिक ३०० पर्यटकले अवलोकन गर्ने गरेको र सार्वजनिक बिदामा यो संख्या एक हजारभन्दा बढी पुग्ने सङ्ग्रहालयका संरक्षक ऋषि स्वामी प्रपन्नाचार्यले जानकारी दिए। उनका अनुसार पछिल्ला चार महिनामै २५ हजारभन्दा बढी पर्यटक आएका छन्। गत वर्ष झन्डै दुई लाख पर्यटकले यहाँ भ्रमण गरेको उनले बताए। सङ्ग्रहालय पाँच वर्षअघि सर्वसाधारणका लागि खुला गरिएको हो।

त्रिशूल आकारको सुरुङभित्र रहेको सङ्ग्रहालयमा दामोदरकुण्डदेखि त्रिवेणीधामसम्मको नक्सा तथा विभिन्न मठ–मन्दिरका आकृति पनि समावेश गरिएका छन्। यहाँ ३०० किलोसम्मका शालग्राम शिला सङ्ग्रहित छन्। “नेपाली मात्र होइन, भारतीय पर्यटकको आकर्षण पनि उल्लेखनीय रूपमा बढेको छ,” संरक्षक प्रपन्नाचार्यले भने, “सुरुमा धेरै आगन्तुक आउँदैनथे, तर पछिल्लो समय नियमित रूपमा दुई–तीन सय पर्यटक आउने गरेका छन्।”

पश्चिम नवलपरासीकी एलिना खनालले मुक्तिनाथबाट फर्कँदै गर्दा सङ्ग्रहालय अवलोकन गरेको बताइन्। “यति ठूलो सङ्ग्रहालयबारे थाहा थिएन,” उनले भनिन्, “कालीगण्डकीमा अहिले शालग्राम फेला पर्न छोडे पनि यहाँ संरक्षण गरेर राखिएको देख्दा निकै खुसी लाग्यो।”

चितवनका टीकाराम पाठकले परिवारसहित भ्रमण गर्दा शालग्रामको विशाल संग्रह र दामोदरकुण्डदेखि त्रिवेणीधामसम्मको नक्सा–आकृतिले आफूलाई आकर्षित गरेको बताए। सङ्ग्रहालय परिसरमा श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिरलगायतका विभिन्न धार्मिक संरचनाहरू पनि निर्माण गरिएका छन्, जसले यस क्षेत्रलाई धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्दै लगेको छ।

प्रतिक्रिया दिनुहोस्