
काठमाडौँ ।
“केही भोकि जस्तो लाग्छ भुइँमा पात खस्दा पनि,
घरदेशकै याद आउँछ परदेशमा बस्दा पनि ।”
वि.सं. २०६३ मा लैनचौरस्थित अलकाबस्तीमा रहेका राष्ट्रकवि माधव घिमिरेले गीतकार तथा रेडियोकर्मी रमेश पौडेलको गीति पुस्तक पाउँदा अत्यन्तै रुचिका साथ पढेका थिए। पुस्तकमा समावेश कतिपय गीत उनले पौडेलकै मुखबाट पनि सुनेका थिए। ‘आभाषित आलाप’ प्रकाशित भएलगत्तै गीतकार पौडेल कविवर घिमिरेको निवास पुग्दा कविले ती गीतहरूबारे प्रशंसा व्यक्त गरेका थिए।
“ओहो! यो गीत पो रेकर्ड गर्नुपर्थ्यो। शक्तिवल्लभलाई संगीत भर्न दिनु,” घिमिरेले भनेको स्मरण आज पनि गीतकार पौडेललाई छ।
झनै मन छोएको पंक्ति —
“मै फर्के कि भन्दा होलान् गाउँमा कोही पस्दा पनि,
घरदेशकै याद आउँछ परदेशमा बस्दा पनि ।”
तर दुई दशकअघि गीत रेकर्ड गर्ने खर्च उठाउन नसक्दा त्यो इच्छा अधुरै रह्यो। परिवारको खर्च र छोराछोरीको पढाइका कारण रमेशले त्यसबेला गीत रेकर्डिङ गर्ने साहस गर्न सकेनन्। यतिबेला भने परिस्थितिले नयाँ दिशामा मोड लिएको छ—उनका ज्वाइँ अमित घिमिरेले बेलायतबाट एआई विषयमा स्नातकोत्तर सकेपछि गीतले प्रविधिसँग नाता जोड्ने अवसर पायो।
छोरी आकृतिले समेत “बाबा, अब एआईबाटै गीत तयार पारेर अर्काइभ गर्नुहोस्,” भनेपछि पनि रमेशको मन पूर्ण रूपमा ढुक्क थिएन। “एआईले सिर्जनशीलता मार्छ” भन्ने पुरानो धारणा उनमा थियो। तर अन्ततः अमितको ‘पेइड एकाउन्ट’ प्रयोग गरी ‘सुनो एआई’ को फ्रि भर्सनमा आफ्ना मौलिक गीत हाल्दा चित्तबुझ्दो धुन र स्पष्ट उच्चारणसहितको परिणाम आएको उनले बताए। युट्युबमा राख्दा कपिराइटसम्बन्धी समस्या नआएको पनि उनको दाबी छ।
“राष्ट्रिय भावनाले भरिएको गीतको ‘म्यानुअल लिरिकल भिडियो’ बनाएर युट्युबमा राखेपछि सकारात्मक प्रतिक्रिया आयो,” गीतकार पौडेल भन्छन्, “सुनोलाई सही निर्देशन दिँदा चाहेजस्तो धुन र उच्चारण आउँदो रहेछ। च्याटजिपिटी भने म प्रयोग गर्दिनँ, पुराना मौलिक सिर्जनामा मात्रै हाल्छु। गति, यति र लय मिलेका गीतमा ५० प्रतिशत लय शब्दमै हुने भएकाले त्यस प्रकारका गीतमा सुनोले झनै मधुर धुन बनाइदिने रहेछ।”
दुई दशकअघि राष्ट्रकविले मन पराएको गीत आज एआईको सहायताले नयाँ जीवन पाएको छ।





