विचित्र गुफा पर्यटकको प्रतीक्षामा



गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–५, वस्तुमा अवस्थित ‘विचित्र गुफा’ अहिले आन्तरिक तथा बाह्य पर्यटकको पर्खाइमा छ। प्राकृतिक रूपले सुन्दर, कलात्मक र आकर्षक देखिने यो गुफा जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित छ।

जिल्ला सदरमुकाम तम्घासदेखि पाँच कोष (करिब १८ किलोमिटर) उत्तरतर्फ पर्ने गुफा विसं २०४५ मा स्थानीय जनार्दन भण्डारीले संयोगवश पत्ता लगाएका थिए। आफ्नो बारीमा मकै खान आएका ढेँडुबाँदरलाई लखेट्दै जाँदा ढेँडुबाँदर चट्टानबीचको सानो प्वालबाट भित्र पस्दा गुफाको अस्तित्व खुलेको थियो। पछि स्थानीयले राँको बालेर हेर्दा गुफा विशाल आकारमा फैलिएको पुष्टि भएको थियो।

पत्ता लगाइएपछि यतिबेला सम्म गुफा अवलोकनका लागि आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ। पछिल्ला वर्षहरूमा फ्रान्स, जर्मनी र बेलायतलगायतका मुलुकका पर्यटक पनि गुफा हेर्न आउने क्रम बढेको धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोख्रेलले बताए। सिर्सेनीस्थित अरबिन्द्र आश्रममा योग साधनाका लागि आउने विदेशी नागरिकहरूमध्ये धेरैजसोले एकपटक गुफा अवलोकन गर्ने गरेको जानकारी उनले दिए।

१८५ मिटर लम्बाइ र ३५० मिटर चौडाइमा फैलिएको विचित्र गुफामा प्रवेश गरेपछि थप पाँच प्राकृतिक द्वारहरू देखिन्छन्। गुफाभित्रका भित्ताहरूमा देखिने विभिन्न आकृतिले पर्यटकको ध्यान खिच्ने गर्दछ। बाहिरको प्राकृतिक सुन्दरताले गुफाको आकर्षण झनै बढाएको छ।

गुफाको मुख्य आकर्षण ‘स्वर्ग जाने बाटो’ नामक स्थान हो। धार्मिक मान्यताअनुसार धर्मात्मा मात्र भित्र पस्न सकिने भनिने यो स्थान अत्यन्त साँघुरो छ, जसमा प्राकृतिक रूपमा हात्तीको भीमकाय आकृति—शरीर, पुच्छर र सुँड—स्पष्ट देखिन्छ। त्यसभन्दा अगाडि अन्य कुनै आकृति नदेखिने भएकाले त्यसलाई गुफाको अन्तिम तथा अत्यन्तै विचित्र दृश्य मानिन्छ। स्वर्ग जाने बाटो पार गर्न सक्ने मानिस स्वयंलाई भाग्यमानी सम्झने चलन छ।

गुफाभित्र विभिन्न जनावरका आकृतिहरू देखिनु पनि यसको थप सौन्दर्य हो। गुफा संरक्षण र प्रवर्द्धनका लागि स्थानीय, प्रदेश तथा संघीय स्रोतबाट दुई करोडभन्दा बढी बजेट खर्च भइसकेको अध्यक्ष पोख्रेलले जानकारी दिए।

तम्घासबाट सडक तथा पैदल दुबै मार्ग हुँदै सजिलै पुग्न सकिने यो गुफा अब थप पर्यटकको पर्खाइमा छ।

प्रतिक्रिया दिनुहोस्