बोगुरा इन्टरनेशनल फिल्म फेस्टिभल २०२६मा ‘द चेन्ज’ चयन



काठमाडौँ, मंसिर ९
आगामी जनवरी ६ देखि १० तारिखसम्म बंगलादेशको बोगुरा सहरमा आयोजना हुने छैटौँ ‘बोगुरा इन्टरनेशनल फिल्म फेस्टिभल २०२६’ (BIFFS)मा नेपाली लघु चलचित्र ‘द चेन्ज’ (परिवर्तन) चयन भएको छ। महोत्सवको अन्तर्राष्ट्रिय समूह तथा इन्टरनेशनल ओपन डोर सेग्मेन्ट दुवैका लागि यो चलचित्र छानिएको आयोजकले जनाएको छ।

डब्बु क्षत्री निर्देशित यो लघु चलचित्र यसअघि ग्रामिण चलचित्र महोत्सवमा पनि प्रदर्शनका लागि चयनिएको थियो। सोही महोत्सवमा निर्देशक क्षत्रीले उत्कृष्ट निर्देशक, अभिनेता प्रवण भुसालले उत्कृष्ट अभिनेता र सरिता भारतीले जुरी अवार्ड–अभिनेत्री प्राप्त गरिसकेका छन्।

२१ मिनेटको ‘द चेन्ज’ नेपाली समाजमा अझै देखिइरहेको महिनावारीसँग सम्बन्धित छुवाछुत–जस्तो कि भान्सा, पानी र पुरुषसँग सम्पर्क निषेध गर्ने कुरीतिमाथि केन्द्रित छ। यस्ता परम्परागत कुसंस्कारले समाजमा पार्ने प्रभावलाई चलचित्रले गम्भीर ढंगले उठान गरेको छ।
यो लघु चलचित्र **बिलक्षण क्रियसन प्रा.लि.**ले निर्माण गरेको हो।

चलचित्रमा प्रवण भुसाल, सरिता भारती (अभिनेत्री तथा गायिका), कमला जोशी, माधवराज खरेल, शर्मिला शर्मा, सुरज अधिकारी आदिको मुख्य भूमिका छ।
रामशरण उप्रेतीको छायांकन, वीरेन्द्र भाट ‘विपिन’को सम्पादन र ओम सुनारको पाश्र्व संगीत यसमा समावेश छन्।

प्रतिक्रिया दिनुहोस्