चलचित्र ‘स्त्री’ फागुन २९ देखि देशभर प्रदर्शनमा



काठमाडौँ। जीवन शाहीको लेखन तथा निर्देशनमा तयार भएको नयाँ नेपाली चलचित्र ‘स्त्री’ आगामी फागुन २९ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। प्रदर्शन मिति सार्वजनिक गर्दै निर्माण पक्षले चलचित्रको आधिकारिक शीर्षक डिजाइन पनि सार्वजनिक गरेको छ।

मेला रेकर्डिङ स्टुडियोको ब्यानरमा समिर राईको निर्माणमा बनेको ‘स्त्री’ मा निर्देशक शाहीकै कथा समावेश छ भने पटकथा लेखनमा उनीसँग किशन अर्याल सहयोेगि रहेका छन्। चलचित्रको छायांकन रामशरण उप्रेतीले गरेका छन्। बाबुल गिरीले संगीत, सुबास काफ्लेले प्रोजेक्ट म्यानेजमेन्ट, देव महर्जनले द्वन्द्व निर्देशन, चन्द्र भण्डारीले प्रमुख सह–निर्देशन र श्याम बराल तथा सुकनिता चौलागाईंले क्रमशः मेकअप र ड्रेस डिजाइन सम्हालेका छन्।

फिल्मका सह–निर्मातामा सहदेव बिष्ट, प्रमोद भट्टराई प्रतीक, रिता श्रेष्ठ र मञ्जु राजबंशी छन्। सयौँ भिडियो निर्देशन गरिसकेका जीवन शाहीका लागि ‘स्त्री’ डेब्यु निर्देशन फिल्म मानिन्छ। सामाजिक कथामा आधारित यस चलचित्रमा प्रमोद अग्रहरी, सलोन बस्नेत, रिस्ता बस्नेत, नम्रता श्रेष्ठ, दिनेश डिसी, दीपाश्री निरौला र बालकलाकार दिप्सन चिलवाल मुख्य भूमिकामा देखिनेछन्।

निर्माता समिर राईका अनुसार फिल्मको पोस्ट–प्रोडक्सन कार्य अहिले तीव्र गतिमा भइरहेको छ। नारी–केन्द्रित कथामा बनेको ‘स्त्री’ को डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरिसकेको छ भने वितरण जिम्मा एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले देशभर गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्