“एआई फर टुरिज्म एण्ड हस्पिटालिटी एक्सिलेन्स” तालिम काठमाडौंमा सुरु



काठमाडौं, मंसिर १ —
नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रका व्यवसायीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित “एआई फर टुरिज्म एण्ड हस्पिटालिटी एक्सिलेन्स” विषयक विशेष तालिम काठमाडौंमा सुरु भएको छ। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा भएको तालिम राजधानीको होटल याक एण्ड यतिमा संचालन भइरहेको हो।

नेपालका विभिन्न क्षेत्रबाट आएका ६० जना पर्यटन तथा हस्पिटालिटी व्यवसायीहरूको सहभागिता रहेको तालिममा डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्ताको प्रयोग गरी उद्योगलाई प्रतिस्पर्धी, नवप्रवर्तनशील र दिगो बनाउन आवश्यक ज्ञान र कौशल प्रदान गरिने आयोजकले जानकारी दिएका छन्।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले पर्यटन प्रवर्द्धन, बजार रणनीति र क्षेत्रीय वृद्धि रणनीतिमा एआई अत्यावश्यक उपकरण बन्दै गएको बताए। उनले सहभागीहरूलाई सिकाइ प्रक्रियामा सक्रिय रहन र एआईले पर्यटन व्यवसायमा ल्याउन सक्ने परिवर्तनलाई व्यवहारमा उतार्न आग्रह गरे।

पाटा नेपाल च्याप्टरका अध्यक्ष खे्म लाकाईले बदलिँदो विश्व परिवेशमा डिजिटल सीप र एआई क्षमता नभए नेपालका पर्यटन व्यवसाय प्रतिस्पर्धामा पछाडि पर्न सक्ने चेतावनी दिए। उनले तालिमले नेपाली पर्यटन जनशक्तिको कौशल अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे।

उद्घाटन सत्रको सञ्चालन पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेश सिंह बुडालले गरेका थिए।

हङकङ पोलिटेक्निक विश्वविद्यालयको स्कूल अफ होटल एण्ड टुरिज्म म्यानेजमेन्टकी सहायक प्राध्यापक प्रो. डा. फाये हाओको नेतृत्वमा सञ्चालन भइरहेको तालिममा एआईका आधारभूत पक्ष, एआई मोडेल तथा एजेन्ट, एआईका नैतिकता, र होटल, रिसोर्ट, एयरलाइन्स, डेस्टिनेसन म्यानेजमेन्ट तथा माईस सेवामा एआईको प्रयोगबारे विस्तृत प्रशिक्षण दिइने छ।

आयोजकका अनुसार नेपाली ट्राभल ट्रेडको सक्रिय सहभागितासहित यो तालिमले पेशागत दक्षता अभिवृद्धि, नवप्रवर्तन प्रेरणा र नेपाललाई स्मार्ट तथा दिगो पर्यटन सेवातर्फ उन्मुख गराउने लक्ष्य राखेको छ।

प्रतिक्रिया दिनुहोस्