
गण्डकी । गण्डकी प्रदेशका पाँच जिल्लामा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा पछिल्ला वर्षहरूमा विदेशी पर्यटक आगमन उल्लेखनीय रूपमा बढेको छ ।
कोभिड–१९ महामारीका कारण सन् २०२१ मा पर्यटक आगमन घटे पनि त्यसयता निरन्तर सुधार हुँदै आएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का तथ्याङ्कअनुसार सन् २०२२ मा १ लाख २९ हजार ७१८, सन् २०२३ मा १ लाख ९१ हजार ६६६ र सन् २०२४ मा २ लाख ४४ हजार २५ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्र भ्रमण गरे ।
सन् २०२५ का पहिलो १० महिनामै गत वर्षको तुलनामा बढी पर्यटक भित्रिएका छन् । जनवरीदेखि अक्टोबरसम्म २ लाख ४६ हजार ५७५ विदेशी पर्यटक अन्नपूर्ण क्षेत्रमा आएका छन् । तीमध्ये दक्षिण एसियाली मुलुकबाट १ लाख ४६ हजार ९६८ र अन्य देशबाट ९९ हजार ६०७ पर्यटक आएका एक्याप प्रमुख डा. रविन कडरियाले जानकारी दिए । यो अवधिमा अप्रिल महिनामा ४४ हजार ७६३ जनासहित सबैभन्दा धेरै पर्यटक आएका थिए भने जनवरीमा सबैभन्दा कम ९ हजार ३५९ पर्यटक पुगेका थिए ।
‘जेनजी’ आन्दोलनलगायतका कारण सेप्टेम्बरमा पर्यटक संख्या केही घटे पनि अक्टोबरमा भने अघिल्लो वर्षको तुलनामा १ हजार ५५७ बढी पर्यटक आएको एक्यापले बताएको छ । नोभेम्बरपछि आगमन घट्दै जाने र मार्चदेखि पुनः बढ्ने प्रवृत्ति हुने डा. कडरियाले बताए ।
पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा सेप्टेम्बर–नोभेम्बर र मार्च–मे प्रमुख सिजन मानिन्छ । यी मौसममा सडक तथा पदयात्रा दुवै मार्ग प्रयोग गर्ने पर्यटक बढी देखिन्छन् । मुक्तिनाथ जाने भारतीय पर्यटक मुख्यतः सडकमार्ग प्रायः प्रयोग गर्छन् भने अन्य देशका पर्यटक पदयात्रा रोज्ने गर्छन् ।
एक्यापले विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ भने आन्तरिक पर्यटकको संख्या पनि बर्सेनि बढ्दै गएको बताइन्छ । अन्नपूर्ण चक्रीय पदमार्ग विश्वभरका पर्यटकको प्रमुख आकर्षण बनेको छ । अन्नपूर्ण आधारशिविर, मर्दी हिमाल, ल्वाङ, घान्द्रुक, तिलिचो ताल, थोरङला, उपल्लो मुस्ताङ, मुक्तिनाथ, घोडेपानी, पुनहिललगायत गन्तव्यमा हरेक वर्ष लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।
७ हजार ६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडाहरू समावेश छन् । प्राकृतिक सुन्दरता, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति, सहज पूर्वाधार र आतिथ्यशील स्थानीयवासीका कारण अन्नपूर्ण क्षेत्र विश्वकै उत्कृष्ट घुमफिर गन्तव्यका रूपमा पहिचान बनाउँदै आएको छ ।





