पढ्दै–कमाउँदै कार्यक्रम हटेपछि सामुदायिक विद्यालयहरूमा चुनौती



भोजपुर । सामुदायिक विद्यालयमा वर्षौंदेखि सञ्चालन हुँदै आएको ‘पढ्दै–कमाउँदै’ कार्यक्रम खारेज भएपछि प्राविधिक तथा सीपमूलक शिक्षाको কার্যान्वयनमा गम्भीर समस्या देखिएको छ । अभ्यासमूलक तथा व्यावहारिक सिकाइ प्रदान गर्ने प्रभावकारी माध्यमका रूपमा रहेको यो कार्यक्रम रोकिएसँगै धेरै विद्यालय प्रभावित बनेका छन् ।

भोजपुर नगरपालिका–१२ टक्सारस्थित यशोधरा माध्यमिक विद्यालयका प्रधानाध्यापक ध्रुवराज रेग्मीका अनुसार कार्यक्रम हटेपछि शिक्षण–सिकाइ प्रक्रियामा प्रत्यक्ष असर परेको छ । उनका शब्दमा, कार्यक्रम बन्द हुँदा आवश्यक सामग्री जुटाउने, ‘फिल्डवर्क’ सञ्चालन गर्ने र विद्यार्थीलाई व्यावहारिक अभ्यास गराउने काम नै कठिन भएको छ ।

प्रधानाध्यापक रेग्मी भन्छन्, ‘सामुदायिक विद्यालयमा चल्दै आएको ‘पढ्दै–कमाउँदै’ कार्यक्रम अत्यन्तै प्रभावकारी थियो । विद्यार्थीले अभ्यासमूलक ज्ञानसँगै आफ्नै उत्पादनबाट केही आम्दानी पनि गर्दै आएका थिए । कार्यक्रम हटाइएपछि व्यावहारिक सिकाइ कमजोर बन्दै गएको छ, यति उपयोगी कार्यक्रम बन्द हुनु दुःखद् कुरा हो ।’

उनका अनुसार आर्थिक वर्ष २०८१/८२ देखि कार्यक्रम बन्द गरिएको हो । शिक्षा विभागमार्फत सञ्चालन हुने यस कार्यक्रमअन्तर्गत विभिन्न विद्यालयले तरकारी, फलफूल, धान, च्याउलगायत खेती तथा सीपमूलक गतिविधि गर्दै आएका थिए । केही विद्यालयले भाडामा जमिन लिएर व्यावसायिक अभ्याससम्म सञ्चालन गर्दै आएका थिए ।

कार्यक्रम हटेसँगै व्यावसायिक धार सञ्चालन गरिरहेका विद्यालयले व्यावहारिक शिक्षणलाई निरन्तरता दिन चुनौती झन् बढेको बताउँदै विद्यालयहरूले राज्यले वैकल्पिक कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औँल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्