“लोक दोहोरी स्टार” का लागि एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच सम्झौता सम्पन्न



काठमाडौं । नेपाली लोक तथा दोहोरी गीतसंगीतको इतिहासमा अर्को महत्वपूर्ण अध्यायको सुरुवात गर्दै, एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच बहुप्रतिक्षित टेलिभिजन रियालिटी शो “लोक दोहोरी स्टार” का लागि आधिकारिक म्युजिक पार्टनर सम्झौता सम्पन्न भएको छ।

म्युजिक नेपालका प्रमुख प्रशासकीय अधिकृत उत्तम थापा र एभेन्टोज डिजिटलका निर्माता डेभिल सिंह राजपुतले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। कार्यक्रममा म्युजिक नेपालका निराजन महर्जन तथा एभेन्टोज डिजिटलका सह–निर्माता एवं प्रशासन प्रमुख यादब बहादुर थापा उपस्थित थिए। साथै, शो निर्देशक माधव राज खरेल र निर्णायक चन्द्र शर्माजस्ता प्रतिष्ठित व्यक्तिहरूको पनि सहभागिता रहेको थियो।

सम्झौता समारोहमा दुबै संस्थाले “लोक दोहोरी स्टार” लाई नेपाली संगीत इतिहासकै भव्य र फरक शोका रूपमा प्रस्तुत गर्ने साझा प्रतिबद्धता व्यक्त गरे। उनीहरूको भनाइमा, यो सहकार्यले शोका मौलिक गीत, दोहोरी र सिर्जनात्मक प्रस्तुतीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा म्युजिक नेपालको डिजिटल प्लेटफर्ममार्फत प्रचार–प्रसार गर्न सहयोग पुर्‍याउनेछ।

एभेन्टोज डिजिटलद्वारा निर्माण भइरहेको “लोक दोहोरी स्टार” ले देशभरका प्रतिभाशाली लोक दोहोरी गायक–गायिकाहरूलाई राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने उद्देश्य लिएको छ। निर्णायक मण्डलमा चर्चित लोकगायक पशुपति शर्मा, गायिका रीता थापा मगर, गायक तथा संगीतकार चन्द्र शर्मा र अमृत खाती रहेका छन्।

कार्यक्रमको एक्सक्लुसिभ टेलिभिजन पार्टनर स्पेस टेलिभिजन रहनेछ भने अफिसियल युट्युब च्यानल एभेन्टोज डिजिटलमार्फत शो प्रसारण गरिनेछ। यसअघि यस सिजनको “लोक दोहोरी स्टार” को मेघा अडिशनको कार्य पूरा भइसकेको छ।

सम्झौतापछि दुवै संस्थाका प्रतिनिधिहरूले यो सहकार्य नेपाली लोकसंगीतको उत्थान, संरक्षण र प्रवर्द्धनका लागि माइलस्टोन सावित हुने विश्वास व्यक्त गरे। “लोक दोहोरी स्टार” ले परम्परागत लोकसंगीतलाई आधुनिक प्रविधि र आकर्षक प्रस्तुतीको माध्यमबाट नयाँ पुस्तासम्म पुनः जीवन्त बनाउने लक्ष्य लिएको छ। कार्यक्रम मंसीरको दोस्रो सातादेखि प्रसारणमा आउनेछ।

प्रतिक्रिया दिनुहोस्