
मनाङ । हिमाली जिल्ला मनाङको नासोँ गाउँपालिकाले मनास्लु हिमाल आरोहणका लागि नयाँ पदमार्गको प्रारम्भिक अध्ययन थालेको छ।
गाउँपालिकाको समन्वयमा र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को प्रायोजनमा सुरु गरिएको यस अध्ययनको उद्देश्य मनास्लु आरोहणका लागि सहज र छोटो वैकल्पिक बाटो पहिचान गर्नु रहेको छ।
हाल आरोहीहरू काठमाडौँबाट गोरखाको आरुघाट, सामागाउँ हुँदै पूर्वतर्फबाट मनास्लु आरोहण गर्ने गर्छन्। तर नासोँ गाउँपालिकाले अब पश्चिमतर्फबाट — काठमाडौँ, लमजुङको बेंसीसहर, धारापानी, तिल्चे, गुवा, सुती खोला र याकखर्क हुँदै भीमथाङसम्म पुग्ने मार्ग — बाट आरोहणको सम्भावनाबारे अध्ययन सुरु गरेको हो।
सामागाउँ र भीमथाङ दुवै बाटो ६ हजार मिटर उचाइमा पर्ने क्याम्प–थ्रीमा पुगेर मिसिन्छ। आठ हजार १६३ मिटर उचाइको मनास्लु हिमालको पहिलो आरोहण सन् १९५६ मे ९ मा जापानी आरोही टी इमानिस र नेपाली ग्याल्सेन नोर्बुले गरेका थिए। त्यसबेला भीमथाङ मार्ग प्रयोग भएको तर पछि पदमार्ग क्षतिग्रस्त भएपछि सामागाउँतर्फबाट आरोहण सुरु गरिएको नासोँ गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए।
प्रारम्भिक अध्ययन टोलीका सदस्य कर्मा शेर्पाका अनुसार अध्ययनको पहिलो चरणमा तस्बिर तथा भिडियो संकलन गरिएको छ र त्यसको विश्लेषणपछि निष्कर्ष निकालिनेछ। उनले भने, “हिउँ भएकाले विस्तृत अध्ययन गर्न बाँकी छ। मार्गमा पहिरोको जोखिम, सहजता तथा अन्य प्राविधिक पक्षबारे थप अनुसन्धान आवश्यक छ।”
गाउँपालिका अध्यक्ष गुरुङका अनुसार अनुभवी माउण्टेन गाइडहरूको सहभागितामा सम्भाव्यता अध्ययन अघि बढाइएको छ। यदि भीमथाङतर्फको बाटोबाट आरोहण सम्भव देखिएमा यो मार्ग मनास्लु बेस क्याम्पसम्म पुग्ने सबैभन्दा छोटो र सजिलो हुने विश्वास गरिएको छ।
“हामी भीमथाङबाट मनास्लु आरोहणको सपना देखिरहेका छौँ,” अध्यक्ष गुरुङले भने, “यो सफल भएमा नेपालको आठ हजार मिटरभन्दा माथिको हिमालसम्म पुग्ने सबैभन्दा छोटो बेस क्याम्प पदमार्ग यही हुनेछ।”
काठमाडौँबाट लमजुङको बेंसीसहर हुँदै मनाङको तिल्चेसम्म सवारीसाधन पुग्छ। त्यहाँबाट गुवा, सुती खोला, याकखर्क हुँदै भीमथाङसम्म पैदल हिँड्न सकिन्छ र त्यहाँबाट साढे दुई दिनमै मनास्लु बेस क्याम्पमा पुग्न सकिने अनुमान गरिएको छ।
हाल यो पदमार्गमा करिब ३० वटा होटल सञ्चालनमा छन्। तीन हजार ७०० मिटर उचाइमा रहेको भीमथाङमा मात्रै ११ वटा होटल रहेका छन्, जसमा करिब ५०० जना पर्यटक एकैपटक बस्न सक्ने सुविधा छ।
गुरुङले भने, “हामीलाई विश्वास छ, यो पदमार्गले मनास्लु आरोहणमा नयाँ सम्भावना खोल्नेछ। छोटो दूरी र कम खर्चमा आठ हजार मिटरभन्दा माथिको आरोहण सम्भव हुने अपेक्षा गरेका छौँ।”
हाल पनि केही आरोही तथा पथप्रदर्शकहरूले मनाङको धारापानी–तिल्चे–भीमथाङ मार्गमार्फत मनास्लु आरोहण गर्ने गरेका छन्। सर्वेक्षणबाट मार्गको औपचारिक स्वीकृति र अनुमति पाइसकेपछि यो वैकल्पिक बाटो आरोहीहरूका लागि अझ सहज र लोकप्रिय बन्ने अपेक्षा गरिएको छ।





